
बझाङ जिल्ला कारागारबाट मंगलबार राति ९:१५ बजे जेल तोडेर भागेका चार जना कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कारागारको मुल गेटको ताला तोड्दै सुरक्षाकर्मीलाई धम्की दिँदै भागेका ६५ कैदीबन्दीमध्ये चार जनालाई सदरमुकाम चैनपुर बजारबाट नियन्त्रणमा लिइएको हो।
जेलर राजेन्द्र फराडाका अनुसार, तीन जनालाई राति ११:३० बजे र एक जनालाई राति १ बजे नियन्त्रणमा लिइ जेलभित्र राखिएको छ। ४ जना थपिएपछि जेलमा हाल २४ जना कैदीबन्दी मात्र रहेका छन्।
प्रहरी नायब उपरीक्षक खगेन्द्र धमलाका अनुसार, “भागेकाहरूको खोजी कार्य जारी छ। हाल जेल बाहिर ६१ जना कैदीबन्दी रहेका छन्।”
देशभरको जेलमा हाल भइरहेका भाग्ने क्रमलाई जेनजीको हिंसात्मक आन्दोलनसँग जोडेर हेरिएको छ। जेलमा सुरक्षामा खटिएका ३८ जना सुरक्षाकर्मीको आँखा अगाडि कैदीबन्दी भागेका थिए।
एक १४ वर्षको जेल सजाय भोगेका कैदीबन्दीले भने, “हामी गलत गरेर सजाय भोगिरहेका छौं, थप अपराध गर्न चाहन्नौँ। सरकारले इमान्दार कैदी भनेर छुट दिनुपर्ने थियो। हामी घर परिवारसँगै छौँ, अब देशमा शान्ति होस्।”
जेलबाट भागेका कैदीबन्दीका कारण सदरमुकाम चैनपुरमा अहिले त्रास फैलिएको छ।