
सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएका नागरिकका परिवारलाई जनही १ लाख रुपैयाँ किरिया खर्च दिने निर्णय गरेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार सिंहदरबारमा पदभार ग्रहणपछि पत्रकारसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन्।
किरिया खर्च र शव व्यवस्थापन
- आन्दोलनमा मृत्यु भएकाका परिवारलाई सरकारले जनही १ लाख रुपैयाँ किरिया खर्च उपलब्ध गराउनेछ।
- मृतकहरूको सम्झनामा राष्ट्रिय शोक मनाइने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि भएको छ।
- साथै, मृतकको शव घर ठेगानासम्म पुर्याउने जिम्मेवारी सरकारले नै लिनेछ।
छानबिन समिति गठन हुने
गृहमन्त्री अर्यालका अनुसार जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरिनेछ।
- अहिलेसम्मको तथ्यांकअनुसार, आन्दोलनमा ७२ जनाले ज्यान गुमाएका छन्।
- सयौं घाइते विभिन्न अस्पतालमा उपचाररत छन्।
नयाँ गृहमन्त्रीको पहिलो निर्णय
जेनजी समूहको सिफारिसमा मन्त्री बनेका अर्यालले आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेर सिंहदरबार पुगेका थिए।
मन्त्रालयमा उनलाई गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायतले स्वागत गरेका थिए।