
एसिया कप २०२५ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै समूह विजेताको रूपमा सुपर फोरमा प्रवेश गरेको छ। यस हारसँगै अफगानिस्तान समूह चरणमै बाहिरिएको छ भने बंगलादेशले सुपर फोरमा स्थान सुरक्षित गरेको छ।
खेलको समीक्षाः
दुबईको जइद क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रनको प्रतिस्पर्धात्मक योगफल बनायो।
१७० रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८.४ ओभरमै ४ विकेट गुमाएर १७१ रन बनाउँदै सहज जित निकाल्यो।
श्रीलंकाको तर्फबाट शानदार ब्याटिङ
श्रीलंकाका ओपनर कुशल मेन्डिस खेलका नायक बने। उनले ५२ बलमा १० चौकासहित अविजित ७४ रन बनाए।
कुशल परेराले २८ रन, कप्तान चारिथ अस्लङ्काले १७ रन थपे भने कामिन्डु मेन्डिस २६ रनमा नटआउट रहे।
बलिङतर्फ अफगानिस्तानका मुजिब उर रहमान, अज्मतुल्ला ओमराजाई, मोहम्मद नाबी र नुर अहमदले समान १-१ विकेट लिए।
अफगानिस्तानको तर्फबाट नाबीको चम्किलो पारी
अफगानिस्तानका लागि तल्लोक्रममा आएका मोहम्मद नाबीले २२ बलमा ३ चौका र ६ छक्कासहित आक्रामक ६० रन बनाए। तर अग्रपंक्तिका ब्याटरहरू ठूला रन बनाउन असफल रहे।
रहमानुल्ला गुरबाजले १४, सेदीकुल्लाह अटलले १८, इब्राहिम जद्रानले २४ तथा कप्तान रशिद खानले २४ रन बनाए।
श्रीलंकाको बलिङतर्फ नुवान थुसाराले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। दुश्मन्था चमेरा, दुनिथ बेल्लालगे र दासुन शनाकाले १-१ विकेट लिए।
बंगलादेश सुपर फोरमा
यो खेल अफगानिस्तानका लागि डु–अर–डाइ साबित भयो। जिते सुपर फोरमा पुग्ने र हारे बाहिरिने स्थिति थियो।
तर श्रीलंकासँगको हारसँगै अफगानिस्तान प्रतियोगिताबाट बाहिरियो। यस परिणामले बंगलादेशलाई सुपर फोरमा प्रवेश गर्ने बाटो खोलिदियो।
शीर्ष ४ टिम फाइनल
- समूह ए : भारत र पाकिस्तान
- समूह बी : श्रीलंका (विजेता) र बंगलादेश
भारत समूह चरणमा दुई खेलमा दुई जितसँगै शीर्ष स्थानमा छ र अन्तिम खेलमा ओमानसँग भिड्दैछ। भारतले ओमानलाई हराए समूह ‘ए’ को विजेताको रूपमा सुपर फोरमा प्रवेश गर्नेछ।