
ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन आगामी पुस महिनाभित्रै सम्पन्न गर्नुपर्ने बताएका छन्।
बिहीबार शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालय, परामर्शदाता र निर्माण व्यवसायीसँगको छलफलमा मन्त्री घिसिङले संसद भवनलाई संवेदनशील आयोजना भन्दै अब ढिलाइ सहन नहुने चेतावनी दिए।
संसद भवन पुसभित्रै सम्पन्न गर्ने निर्देशन
मन्त्री घिसिङले भने,
“जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद भवनमा ठूलो क्षति पुगेपछि अहिले संसद भवन नै छैन। त्यसैले सिंहदरबारमा निर्माण भइरहेको संसद भवन जसरी पनि पुसभित्रै सम्पन्न गर्नुपर्छ। यो संवेदनशील आयोजना भएकाले अब ढिलाइ गर्न पाइँदैन।”
२०७६ असोजमा तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि पाँचौँ पटक समय थपिएको छ। अबको म्याद आगामी पुसमै सकिँदैछ। हाल आयोजनाको भौतिक प्रगति करिब ८६ प्रतिशत पुगेको छ।
बाँकी कामहरू
- राष्ट्रियसभा र प्रतिनिधि सभा हलमा फल्स सिलिङका लागि ट्रस निर्माण
- मल्टिपरपोज हलमा फल्स सिलिङ कार्य
- इलेक्ट्रिकल प्रणाली अन्तर्गत मेन एलटी प्यानल, सब एलटी प्यानल र मेन सिस्टम
- सम्पूर्ण स्यानिटरी तथा फायर फाइटिङ कार्य
- एचभिएसी परीक्षण र सञ्चालन
यी कामहरू शीघ्र सम्पन्न गरेर संसद भवनलाई समयमै तयार पार्नुपर्ने मन्त्री घिसिङको भनाइ छ।
अनियमिततामाथि कडा चेतावनी
मन्त्री घिसिङले आफ्ना मातहतका निकायमा हुने अनियमितता तत्काल रोक्न निर्देशन दिए। उनले भने,
“विगतमा कसिमन खाएर बजेट बेच्यो भन्ने आरोप सुन्नु परेको थियो। जेनजी आन्दोलनको मुख्य एजेन्डा नै भ्रष्टाचार नियन्त्रण थियो। अब एक रुपैयाँ पनि अनियमिता भयो भने संलग्नलाई छाडिने छैन।”
उनले सेवा प्रवाहलाई छिटो, प्रभावकारी र पारदर्शी बनाउन निर्देशन दिँदै अनियमितता हुने सम्भावित छिद्रहरू पहिचान गरी बन्द गर्न सम्बद्ध निकायलाई आग्रह गरे।