
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका एक कैदीले आफ्नै श्रीमतीको हत्या गरेका छन्।
जर्बजस्तीकरणी मुद्दामा ३ वर्षे कैद सजाय भुक्तान गरिरहेका सन्तबहादुर तामाङ नख्खु कारागारबाट २४ गते फरार भएका थिए। फरार भई घर फर्किएका उनले पनौती नगरपालिका–१२ कलाँतीस्थित आफ्नो घरको करेसामा श्रीमती जमुना तामाङलाई हत्या गरी गाडेको अवस्थामा प्रहरीले फेला पारेको हो।
प्रहरीका अनुसार ३२ वर्षीया जमुना तीन दिनदेखि सम्पर्कविहीन भएपछि परिवारले खोजी थालेका थिए। सो क्रममा करेसामा गाडिएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मिन घलेले जानकारी दिए।
तामाङ र उनकी पत्नीबीच पछिल्ला दिनमा निरन्तर विवाद भइरहेका थिए। स्थानीयले झगडापछि उनले हत्या गरेर लुकिरहेको बताएका छन्। मृतक जमुनाको ११ वर्षीय छोरा र ३ वर्षीया छोरी रहेका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ भने फरार आरोपीको खोजी कार्य तीव्र बनाइएको जनाएको छ।