
गत शुक्रबार साँझ आएको ठूलो पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड आज साँझदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।
तुइन खोलामा शुक्रबार साँझ ६ बजे आएको पहिरोले सडक अवरुद्ध भएको थियो। डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार हिजो साँझ केहीबेर एकतर्फी सञ्चालनमा आएको सडक राति बन्द गरिएको थियो। आज बिहानदेखि पनि सडक एकतर्फी सञ्चालन गरिएको थियो भने दिउँसो १ देखि ३ बजेसम्म पूर्ण रूपमा बन्द गरी पहिरो पन्छाउने काम सम्पन्न गरिएको हो।
अब सडक साँझ ५:३० बजेदेखि नियमित सञ्चालनमा आएको भए पनि अझै पहिरोको जोखिम कायम रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। यात्रु र सवारी चालकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।