Join our Channel

रास्वपा प्रवक्ता मनिष झा– “प्रहरीले ममाथि पनि छानबिन गरोस्”

रास्वपा प्रवक्ता मनिष झा– “प्रहरीले ममाथि पनि छानबिन गरोस्”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले नख्खु जेलमा आगजनी गर्न आफूले उक्साएको भन्ने आरोपबारे छानबिन गर्न प्रहरीलाई आग्रह गरेका छन्।

पार्टीको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले नख्खु पुगेर आगलागी रोक्न प्रयास गरेको दाबी गरे। “आगलागी हुँदै गर्दा राजनीतिज्ञले रोक्न जाने धर्म हो। मेरो पार्टी सभापति २ सय मिटर टाढा हुनुहुन्थ्यो, त्यसैले म घटनास्थल पुगेको थिएँ। तर, सानो भिडियो काटेर भाइरल बनाइएको छ,” प्रवक्ता झाले भने।

उनले सो भिडियोकै आधारमा आफ्नो मानमर्दन भएको दाबी गर्दै प्रहरीलाई आधिकारिक छानबिन गर्न आग्रह गरेका छन्।

झाले थपे, “नख्खु प्रशासनले सुरक्षाको चुनौतीबारे पटक–पटक पार्टीलाई जिम्मा लिन आग्रह गरेको थियो। त्यसपछि हामीले जिम्मा लिएका थियौँ। तर, पत्रमा न त सही छ न स्ट्याम्प, त्यसैले सो बारेमा सम्बन्धित निकायले नै स्पष्ट पार्नुपर्छ।”

त्यस्तै, हालै पार्टी छाडेर गएकी नेतृ तथा निवर्तमान सांसद सुमना श्रेष्ठको विषयमा पनि बैठकमा छलफल भएको उनले जानकारी दिए। रास्वपाले सुमनाप्रति आभार व्यक्त गर्दै नयाँ यात्राको शुभकामना दिएको छ।
“सुमना जी विदेश गएकी होइनन्, उहाँ देशमै रहनुहुन्छ र हाम्रै एजेन्डामा काम गर्ने बताउनुभएको छ। उहाँसँगको सहयात्रा हाम्रो गर्वको विषय हो,” प्रवक्ता झाले भने।

बैठकमा सुमनालाई पुनः पार्टीमा फर्काउन संवाद टोली बनाउनेबारे पनि छलफल भएको उनले बताए।

Leave a comment