
चिप निर्माता कम्पनी एनभिडिया (Nvidia) ले अग्रणी कृत्रिम बुद्धिमत्ता कम्पनी ओपनएआई (OpenAI) मा ठूलो लगानी गर्ने भएको छ। कम्पनीले करिब १०० अर्ब अमेरिकी डलर लगानी गर्दै नयाँ एआई डाटा सेन्टर र पूर्वाधार निर्माणमा सहयोग गर्ने उल्लेख छ।
यी डाटा सेन्टरहरू कम्तिमा १० गिगावाट क्षमताका हुनेछन् र एनभिडियाका उन्नत चिप्सले सुसज्जित हुनेछन्। यी चिप्स एआईलाई तालिम दिन र तैनाथ गर्न प्रयोग गरिने बताइएको छ।
सम्झौता अनुसार, एनभिडियाले लगानी नगदमा गर्ने र बदलामा ओपनएआईको इक्विटी प्राप्त गर्नेछ। प्रारम्भिक चरणमा १० अर्ब डलर भुक्तानी भइसकेको छ भने प्रत्येक गिगावाट कम्प्युटिङ पावर सञ्चालनमा आएपछि थप लगानी गर्ने प्रावधान छ।
यस लगानी सम्झौताबाट शेयर बजारमा पनि सकारात्मक प्रभाव देखिएको छ। एनभिडियाको शेयर मूल्य ३.९ प्रतिशतले बढेको समाचार आएको छ।
दुवै कम्पनीले एआई प्रविधिलाई नयाँ स्तरमा पुर्याउने लक्ष्यसहित डाटा सेन्टर निर्माणमा सहयोग गर्ने जनाएका छन्। यसका लागि उन्नत चिप्स, सर्भर, कुलिङ सिस्टम र ठूलो मात्रामा बिजुली आवश्यक पर्नेछ। अनुमानअनुसार, १० गिगावाट क्षमताको यस्तो डाटा सेन्टर सञ्चालन गर्न आवश्यक बिजुलीले न्यूयोर्क शहरको सम्पूर्ण ऊर्जा खपत बराबर पूर्ति गर्न सक्छ।