
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विश्वविद्यालयहरूलाई ३ महिनाभित्र परीक्षाफल प्रकाशित गर्न अनिवार्य निर्देशन दिएका छन्। उनले चेतावनी दिँदै भने– निर्धारित समयसीमामा परीक्षाफल ननिकाल्ने विश्वविद्यालयको अनुदान रोक्का गरिनेछ।
मन्त्री पुनले सामाजिक सञ्जालमार्फत लेख्दै भनेका छन्–
“केही विश्वविद्यालयहरूले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिना देखी १ वर्षसम्म लगाउँदा विद्यार्थीको जीवनमा अपूरणीय क्षति पुगेको छ। राष्ट्रिय परीक्षा बोर्डले ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिनाभित्र निकाल्न सक्छ भने विश्वविद्यालयले पनि त्यस्तै गर्नुपर्छ।”
यसैसँगै उनले तीन वटा साना तर महत्त्वपूर्ण निर्देशन सार्वजनिक गरेका छन् :
- सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षक अनिवार्य
– देशभरका सामुदायिक माध्यमिक विद्यालयमा पठनपाठनका लागि कम्तीमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थप्नुपर्ने। - विश्वविद्यालय परिसर सफाइ र सौन्दर्यकरण
– त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हाताभित्र रहेका झाडी सफा गरेर (ठूला रुख नकटाई) सुन्दर बगैँचा र फुटपाथ बनाउनुपर्ने। - परीक्षाफल तीन महिनाभित्र प्रकाशित गर्न निर्देशन
– समयमै ननिकाले अनुदान रोक्का गरिने चेतावनी।
मन्त्री पुनको यस घोषणापछि विद्यार्थी तथा अभिभावकहरूले स्वागत गर्दै यसले शैक्षिक क्षेत्रको समयसीमा र जिम्मेवारी बढाउने अपेक्षा गरेका छन्।