
पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवराज नगरपालिका–१ उमरी चोकमा बुधबार बिहान साढे ५ बजे बस पल्टिँदा १० जना घाइते भएका छन्। काठमाडौंबाट नेपालगन्जतर्फ जाँदै गरेको ग १ ख ९७०० नम्बरको बस अनियन्त्रित भई विद्युत पोलमा ठक्कर खाएर पल्टिएको थियो।
वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार मुगु खट्याङ–७ की ५० वर्षीया राधिका शर्मा गम्भीर घाइते भएकी छन्। उनलाई थप उपचारका लागि बुटवल पठाइएको छ।
अन्य घाइतेहरूमा राधिकाको छोरा २१ वर्षीय विकास शर्मा, अछाम कमल बजार–५ का २७ वर्षीय शिवराज अधिकारी, बाँके बैजनाथ–१ का २६ वर्षीय विवेक खत्री, लमजुङ महेपालका ६४ वर्षीय पुण्यनिधि घिमिरे, दुर्गादेवी अधिकारी, दैलेख दुल्लु–६ का तिलक खड्का, कालिकोट राजकोट नगरपालिकाकी सीता आचार्य, कास्की लेखनाथ नगरपालिकाका विजय रानाभाट, र जाजरकोट भेरी–३ का मदन थापा रहेका छन्।
सामान्य घाइते भएका नौ जनाको चन्द्रौटामा उपचारपछि घर फर्काइएको छ।
प्रहरी निरीक्षक सुजनविक्रम शाहका अनुसार, बस अनियन्त्रित भएको कारण बाटोमा अचानक ट्रक आउँदा ब्रेक लगाउँदा बस पोलमा ठोक्किएको र पल्टिएको हो। बस र चालक हाल प्रहरीको नियन्त्रणमा राखिएको छ।