Join our Channel

मौसम विभागको चेतावनी : असोज १८ देखि २० सम्म भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

मौसम विभागको चेतावनी : असोज १८ देखि २० सम्म भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले असोज १८ देखि २० गतेसम्म १७ जिल्लामा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान शाखाले बुधबार बेलुका सार्वजनिक गरेको विज्ञप्तिमा बागमती, कोशी, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका विभिन्न क्षेत्रमा बाढी, डुबान र पहिरोको जोखिम बढ्ने चेतावनी दिइएको छ।

कुन–कुन जिल्लामा बढी जोखिम ?

उच्च सतर्कता अपनाउन भनिएका जिल्लाहरू :

  • काठमाडौँ उपत्यका : काठमाडौं, ललितपुर, भक्तपुर
  • बागमती प्रदेश : काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन
  • कोशी प्रदेश : संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ
  • मधेश प्रदेश : बारा, पर्सा, सर्लाही, रौतहट

यी जिल्लासहित आसपासका स–साना नदीमा आकस्मिक बहाव हुने सम्भावना भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको हो।

किन बढी वर्षा हुन्छ ?

बंगालको खाडीमा विकसित न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनतर्फ प्रवेश गरी मध्य भारत हुँदै नेपालतर्फ सरिरहेको विभागले जनाएको छ। यस कारण असोज १७ देखि २० सम्म नेपालमा मनसुनी गतिविधि सक्रिय हुने र बाढी–पहिरोको जोखिम बढ्ने अनुमान गरिएको छ।

कुन नदीमा बढी खतरा ?

  • नारायणी, बागमती, कमला र कोशी नदी
  • यी नदीका सहायक नदीनालामा बहाव उल्लेख्य बढ्ने र खतरा तहसम्म पुग्न सक्ने चेतावनी

साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका महाभारत र चुरे क्षेत्रमा बग्ने स–साना नदीमा आकस्मिक बहाव हुन सक्ने सम्भावना छ।

विभागको अपिल

  • सम्भावित बाढी, डुबान, पहिरो र भू–क्षय बाट सावधान रहनु
  • सडक तथा हवाई यातायात अवरुद्ध हुन सक्ने भएकाले यात्रा गर्दा सतर्कता अपनाउन विभागको सुझाव
  • विपद् जोखिम न्यूनीकरणका सबै निकायलाई पूर्वतयारीमा जुट्न आह्वान

आजको मौसम पूर्वानुमान

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ।

  • भारी वर्षा हुने सम्भावित क्षेत्र : कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थान
  • हालको अवस्था : काठमाडौं उपत्यकासहित देशभर मनसुनी र स्थानीय वायूको प्रभाव, गएरातिदेखि उपत्यकामा वर्षा जारी

Leave a comment