Join our Channel

दशैं टीका: कुन दिशामा फर्केर लगाउने ? टीकाअघि गर्नुपर्ने विधि

दशैं टीका: कुन दिशामा फर्केर लगाउने ? टीकाअघि गर्नुपर्ने विधि

आज विजयादशमी, हिन्दूहरूको महान् पर्व दशैंको मुख्य दिन। देशभर मान्यजनको हातबाट टीका र जमरा ग्रहण गरी आशिर्वाद लिने परम्परा छ। तर, धेरैलाई टीका लगाउँदा कुन दिशामा फर्किने भन्नेमा अन्योल हुने गरेको पाइन्छ।

टीका कुन दिशामा फर्केर लगाउने ?

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार परम्परागत रूपमा पूर्व–पश्चिम दिशा टीका लगाउन उपयुक्त मानिन्छ।

  • टीका ग्रहण गर्ने व्यक्तिले पूर्वतर्फ फर्किनु पर्छ
  • टीका लगाइदिने व्यक्तिले भने पश्चिम फर्किनु पर्छ

समितिले दक्षिण दिशामा फर्केर टीका लगाउने चलन नभएको प्रष्ट पारेको छ। दक्षिण दिशा प्रायः पितृ कर्मका लागि मात्र प्रयोग गरिन्छ।

टीका लगाउनुअघि गर्ने तयारी

समितिका अनुसार आज बिहान ९:२३ बजे देवी विसर्जनको साइत थियो। विसर्जनपछि मात्र टीका ग्रहणको क्रम सुरु हुन्छ।
टीका लगाउनुअघि परम्परागत रूपमा गर्नुपर्ने तयारी यसप्रकार छः

  1. सुरुमा कुल देवता र पितृ देवतालाई टीका चढाउने
  2. घरको मूल ढोकामाथि (दैला) टीका लगाउने
  3. घटस्थापनाका दिन स्थापना गरिएको कलशको जल पवित्र मानिने भएकाले अभिषेक गर्ने
  4. त्यसपछि मात्र मान्यजनबाट टीका ग्रहण गर्ने चलन छ।

जमरा र प्रसादको धार्मिक अर्थ

टीकामा प्रयोग हुने रातो अभिराम र पहेंलो जमरा दुर्गा भवानीको प्रसाद मानिन्छ। जमरा समृद्धि र जीवनशक्तिको प्रतीक हो। घटस्थापनाको दिन राखिएको जमरा विशेष विधिपूर्वक काटी टीकासँगै प्रयोग गरिन्छ।

समितिले भनेको छ, “विजयादशमी आफैंमा शुभ दिन भएकाले घाम उदाएपछि साइत नहेरी पनि विधिपूर्वक मान्यजनबाट टीका ग्रहण गर्न सकिन्छ। टाढा रहेका मान्यजनको घरमा गएर टीका थाप्न कुनै अवरोध छैन।”

यसरी आजदेखि पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सकिन्छ।

Leave a comment