
दशैं मेलामा अष्टमीको राति भएको युवाको हत्या ‘खुनी दरिन्दे समूह’ले गरेको खुलेको छ।
पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकका अनुसार ह्वाट्सअप ग्रुपमार्फत सक्रिय युवाहरूको उक्त समूहले २० वर्षीय शिवम कुमार साह कानु (गोल्डेन) लाई कुटपिट गरी हत्या गरेको अनुसन्धानबाट पुष्टि भएको हो।
मंगलबार राति करिब ११:३० बजे वीरगन्ज महानगरपालिका–१० गीतामन्दिर रोडमा दुई समूहबीच विवाद हुँदा बाराको परवानीपुर गाउँपालिका–९ घर भई हाल वीरगन्जमा बस्दै आएका गोल्डेन गम्भीर घाइते भएका थिए। उनलाई तत्काल नारायणी अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषित गरेका थिए।
एसपी पाठकका अनुसार, घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ पर्नेहरूमा पर्साको वीरगन्ज–२४ का गौतम पटेल (१९), सुभांकर चौरसिया (२०), अमीरी पटेल उर्फ करण प्रसाद पटेल (२२), चन्दन चौरसिया (२४) र अमन पटवा (१९) रहेका छन्।
तीमध्ये तीन जनालाई घटनाको राति नै नियन्त्रणमा लिइएको थियो भने बाँकी दुई जनालाई भारत बिहारको पश्चिमी चम्पारणको बल्थर गाउँबाट बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
एसपी पाठकका अनुसार प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा ३२ जनाको टोली परिचालन गरेर २४ घण्टाभित्रै मुख्य आरोपीसहित पाँचै जना पक्राउ गर्न सफल भएको हो। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि पहिचान गरिसकेको र उनीहरूको खोजी भइरहेको जनाएको छ।