
बलिउडका चर्चित अभिनेता शाहरुख खान पहिलो पटक अर्बपति क्लबमा प्रवेश गरेका छन्।
हुरुन इन्डिया रिच लिस्ट २०२५ अनुसार ५९ वर्षीय खानको कुल सम्पत्ति १.४ अर्ब अमेरिकी डलर पुगेको छ। यो सूची भारतका धनीहरूको वार्षिक रिपोर्ट प्रकाशित गर्ने संस्थाले सार्वजनिक गरेको हो।
यो उपलब्धिसँगै शाहरुख खान विश्वका चर्चित सेलिब्रिटीहरू— अर्नोल्ड श्वार्जनेगर, गायिका रिहाना, गोल्फर टाइगर वुड्स र गायिका टेलर स्विफ्टको श्रेणीमा पुगेका छन्। फोर्ब्स पत्रिकाका अनुसार यी सेलिब्रिटीहरूको सम्पत्ति करिब १.६ अर्ब डलरको हाराहारीमा रहेको बीबीसीले जनाएको छ।
यस सूचीमा बलिउडका अन्य चर्चित अनुहारहरू अभिनेत्री जुही चावला, अभिनेता ऋतिक रोशन, अमिताभ बच्चन र निर्देशक करण जोहर पनि परेका छन्।
‘रोमान्स किङ’ भनेर चिनिने शाहरुख खानले तीन दशकभन्दा बढी समयदेखि हिन्दी फिल्म उद्योगमा निरन्तर काम गर्दै आएका छन्। उनी अभिनय मात्र होइन, बलिउडको एक प्रमुख प्रोडक्सन हाउस र क्रिकेट टिमका मालिक पनि हुन्।
हुरुन इन्डियाका अनुसार भारतमा अर्बपतिहरूको संख्या ३५० नाघेको छ। यस वर्ष पनि मुकेश अम्बानी र गौतम अडानी क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन्।