Join our Channel

आयोगले स्वीकृत गर्‍यो निर्वाचन कार्यतालिका, मंसिर १ देखि सुरु हुने दल दर्ता प्रक्रिया

आयोगले स्वीकृत गर्‍यो निर्वाचन कार्यतालिका, मंसिर १ देखि सुरु हुने दल दर्ता प्रक्रिया

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आज औपचारिक रूपमा निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ। कार्यतालिका अनुसार अब निर्वाचनसम्बन्धी सबै तयारीहरू समयबद्ध रूपमा अघि बढाइने भएको छ।

निर्वाचन आयोगका अनुसार मंसिर १ देखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको कार्यक्रम सञ्चालन हुनेछ। यस अवधिमा आयोगमा दर्ता भइसकेका दलहरूले मात्र निर्वाचन प्रयोजनका लागि दर्ता नवीकरण गर्न पाउनेछन्।

समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ भने पौष १८ र १९ गते बन्दसूची (Closed List) पेश गर्ने कार्यक्रम तय गरिएको छ।

त्यसैगरी, पहिलो हुने निर्वाचित हुने प्रणाली (FPTP) का लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ।

निर्वाचन प्रचारप्रसारको अवधि फागुन ३ देखि १८ गतेसम्म रहने र त्यसपछि प्रचार निषेध अवधि लागू हुने आयोगले जनाएको छ। मतदान फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ। मतदान सकिएपछि दुवै प्रणालीतर्फको मतगणना तुरुन्त सुरु गरिनेछ।

आयोगले निर्वाचन तयारीका क्रममा राजनीतिक दल, उम्मेदवार र सरोकारवालाहरूसँग निरन्तर परामर्श र समन्वय गर्ने जनाएको छ। साथै, निर्वाचनमा भाग लिन इच्छुक दलहरूले कात्तिक ३० भित्र राजनीतिक दल दर्ता प्रमाणपत्र लिएर तयार रहन आग्रह गरिएको छ।

Leave a comment