Join our Channel

ताप्लेजुङमा मतदाता नामावली दर्ता गर्नेको संख्या बढ्दै

ताप्लेजुङमा मतदाता नामावली दर्ता गर्नेको संख्या बढ्दै

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ताप्लेजुङमा मतदाता नामावली दर्ता तथा अद्यावधिकमा सहभागिता जनाउनेको संख्या तीव्र रूपमा बढ्दै गएको छ।

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार हालसम्म ३४ जनाले नयाँ मतदाता नाम दर्ता गराइसकेका छन्। निमित्त जिल्ला निर्वाचन अधिकारी वान्दवराज दुलालका अनुसार अहिले दर्ता तथा अद्यावधिक प्रक्रियाबारे जानकारी लिन र नाम समावेश गराउन कार्यालयमा आउनेहरूको संख्या दिनानुदिन बढिरहेको छ।

“कोही प्रत्यक्ष नाम दर्ताका लागि आउनुहुन्छ भने कोही प्रक्रिया बुझ्न आउनुहुन्छ,” दुलालले बताए। उनका अनुसार २०८१ चैतसम्म ताप्लेजुङमा ८७ हजार ८६३ मतदाता दर्ता भएका थिए, जसमा ४६ हजार ८७९ पुरुष र ४० हजार ९८४ महिला छन्।

निर्वाचन आयोगको कार्यतालिका अनुसार मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य कात्तिक ३० गतेसम्म चल्नेछ। यो कार्य बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने गरिएको छ।

दुलालका अनुसार अहिलेको चरणमा

  • नयाँ नागरिकता लिएका तर मतदाता नामावलीमा नपरेका नागरिकको नाम दर्ता,
  • त्रुटि सच्याउने,
  • विवाह वा बसाइँसराइका कारण स्थानान्तरण गर्ने, र
  • मृत्यु वा नागरिकता त्याग गरेका व्यक्तिको नाम हटाउने कार्य भइरहेको छ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङमा ८८ हजार २८५ मतदाता रहेका थिए। मतदाता अद्यावधिकपछि हाल कुल मतदाता संख्या ८७ हजार ८६३ कायम भएको हो।

त्यो निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार योगेशकुमार भट्टराईले गठबन्धनका उम्मेदवार **माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री (पराग)**लाई २०८ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

Leave a comment