
नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले अबको दुई–तीन हप्तामा टियु क्रिकेट मैदान नयाँ स्वरुपमा तयार हुने बताएका छन्। बिहीबार टियु क्रिकेट मैदानमा आयोजित कार्यक्रममा उनले मंसिर १ गतेदेखि दोस्रो संस्करणको एनपिएल (Nepal Premier League) आयोजना गर्न तयारी पूरा भइसकेको बताए।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप प्यारापिट निर्माण र फ्लड लाइट जडान गर्ने काम २०८१ फागुनमा सम्झौता भइसकेको थियो। सम्झौताअनुसार तोकिएको समयमा निर्माण कार्य सम्पन्न हुन नसकेपछि, अहिले निर्माण कम्पनीले म्याद थप गरेर काम जारी राखेको सचिव खड्काले जानकारी दिए।
उनले भने, “एनपिएल दोस्रो संस्करणको लागि सबै तयारी पूरा भइसकेको छ र मैदान दुई–तीन हप्ताभित्र नयाँ स्वरुपमा खेलको लागि तयार हुनेछ। खेलाडी र दर्शकहरूले अब आधुनिक सुविधा भएको मैदानमा क्रिकेटको मजा लिन सक्नेछन्।”
क्यानका अनुसार फ्लड लाइट जडान र प्यारापिट निर्माण कार्य पूरा भएपछि, टियु क्रिकेट मैदान राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रयोग गर्न सकिने अवस्था आउनेछ।