
नेकपा (माओवादी केन्द्र) ले संसद् पुनर्स्थापनाको माग गर्ने राजनीतिक दलहरूलाई अहिलेको राजनीतिक परिस्थिति अनुसार व्यावहारिक समाधान खोज्नुपर्ने सुझाव दिएको छ।
बुधबार सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका तर्फबाट सहभागी नेता हितराज पाण्डेले हालको परिस्थितिमा संविधानको किताब मात्र हेरेर राजनीतिक निकास खोज्न नसकिने बताएका हुन्।
उनले भने, “संविधानको किताब हेर्दा अहिलेको सरकार गठन र विघटन असंवैधानिक देखिन सक्छ, तर वास्तविक निकासको बाटो अहिलेको राजनीतिक परिस्थिति अनुसार तय गर्नुपर्छ। अहिलेको समाधान भनेको चुनाव नै हो।”
पाण्डेले जनजी आन्दोलन इतिहासकै दुर्लभ घटना भएको भन्दै दलहरूले आफ्ना कमजोरीहरूको गम्भीर समीक्षा गर्नुपर्ने पनि बताए।
उनका अनुसार अहिलेको संकट समाधान गर्ने बाटो भनेको आगामी निर्वाचन तयारी र लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउने दिशामा केन्द्रित हुनुपर्छ।
तर, सोही बैठकमा नेकपा (एमाले) ले भने संसद् पुनर्स्थापनाको माग गरेको छ। एमालेका नेता महेश बर्तौलाले प्रतिनिधिसभा विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक भएको टिप्पणी गरे।
एमालेले अन्य दलहरूलाई पुनर्स्थापनाको समर्थनमा एकजुट हुन आह्वान गरे पनि माओवादी केन्द्रले भने “संविधानको किताब हेरेर निकास ननिस्कने” भन्दै चुनावमै जोड दिएको हो।