
मधेस प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेसँगै जितेन्द्रप्रसाद सोनार (सोनल) मधेस प्रदेशका चौथो मुख्यमन्त्री बनेका छन्। मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सोनललाई नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।
सोनललाई जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी) गरी पाँच राजनीतिक दलका ५६ जना सांसदहरूको समर्थन प्राप्त भएको छ।
प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको २४ घण्टे समयभित्र दुई फरक दाबी पेस भएपछि मधेसको सत्ता समीकरण निकै पेचिलो बनेको थियो। एकतर्फ लोसपा नेता सोनलले पाँच दलको समर्थनसहित दाबी पेश गरे भने अर्कोतर्फ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादवले एमालेको समर्थनमा दाबी पेस गरेका थिए।
अन्ततः बहुमत प्राप्त गरेको सोनलको दाबी वैध ठहरिँदै उनी मुख्यमन्त्री नियुक्त भएका हुन्।
जनमत फुट्यो, नयाँ दल जनस्वराज गठन
यसैबीच मधेस प्रदेशमा जनमत पार्टी फुटेको छ। पार्टीका दुई जना सांसद — कार्यवाहक मुख्यमन्त्री सतीशकुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साह —ले नयाँ दल जनस्वराज पार्टीमा हस्ताक्षर गरेका छन्।
दुई तर्फी राजनीतिक द्वन्द्वबीच सिंह र साहले निर्वाचन आयोग मधेस प्रदेश कार्यालय, जनकपुरधाममा पुगेर नयाँ दल रोजेका हुन्। दल विभाजनका क्रममा कांग्रेस र एमाले समर्थक कार्यकर्ताबीच नाराबाजीसहित केहीबेर तनाबपूर्ण स्थिति पनि सिर्जना भएको थियो।
को हुन् मुख्यमन्त्री जितेन्द्र सोनल?
सोनलले आफ्नो राजनीतिक यात्रा नेपाल सद्भावना पार्टीका विद्यार्थी नेताका रूपमा सुरु गरेका थिए। उनले २०४२ सालको प्रजातान्त्रिक पुनर्स्थापना आन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए।
सद्भावनाका संस्थापक नेता गजेन्द्र नारायण सिंहबाट प्रेरित सोनल २०६२/०६३ को मधेस आन्दोलनका अग्रपंक्तिका नेता हुन्। उनले २०६४ सालमा तराई मधेस लोकतान्त्रिक पार्टीबाट संविधानसभामा प्रतिनिधित्व गरेका थिए।
०७९ सालको प्रदेशसभा निर्वाचनमा उनी बारा क्षेत्र नं. ४ (ख) बाट निर्वाचित भएका थिए। यसअघि उनी पहिलो मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा भौतिक पूर्वाधारमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
सोनलले मुख्यमन्त्री पद सम्हालेसँगै मधेसको राजनीति पुनः नयाँ दिशातर्फ अघि बढ्ने अपेक्षा गरिएको छ।