Join our Channel

राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह: ‘निर्वाचनको महायज्ञ सफल पार्दै इतिहास रच्न जेनजीहरू अघि सरौं’

राष्ट्रपति पौडेलको आग्रह: ‘निर्वाचनको महायज्ञ सफल पार्दै इतिहास रच्न जेनजीहरू अघि सरौं’

राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनलाई ‘महायज्ञ’ भन्दै यसलाई सफल पारेर नयाँ इतिहास रच्न जेनजी पुस्तालाई आग्रह गरेका छन्। बिहीबार शीतल निवासमा अन्तरिम सरकारका सदस्य र जेनजी अभियान्ताहरूसँग भएको छलफलमा राष्ट्रपतिले युवाहरूको आन्दोलनले ल्याएको परिवर्तनलाई दीगो बनाउन सबैले मिलेर काम गर्नुपर्ने बताए।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, राष्ट्रपतिले भने, “युवा पुस्ताले चाहेको देश भ्रष्टाचार, नातावाद र कृपावादमुक्त हुनुपर्छ। यही सोचका साथ नयाँ निर्वाचन घोषणा गरिएको हो।” उनले थपे, “अब असल र इमान्दारहरू जितेर आउन्, भ्रष्ट र बदमासहरूलाई जनताले अस्वीकार गरून्।”

राष्ट्रपतिले युवाहरूको आन्दोलनले देशमा न्याय, सुशासन र पारदर्शिताको बाटो खुलाएको बताउँदै, “अब युवाहरू बाध्यताले विदेश पलायन हुने अवस्था अन्त्य गर्नुपर्छ,” भने।

उनले संविधानमा राष्ट्रपतिलाई दिइएको राष्ट्रिय एकता प्रवर्द्धन गर्ने अधिकार अन्तर्गत अन्तरिम सरकार गठन भएको बताउँदै, यो आन्दोलनको उपलब्धि भएको उल्लेख गरे। “यो आन्दोलनलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्न खोज्नेहरूबाट सावधान रहनुहोस्,” उनले जेनजी अभियान्ताहरूलाई सचेत गराए।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति पौडेलको प्रयासको प्रशंसा गर्दै भनिन्, “राष्ट्रपतिले देशको संकटपूर्ण अवस्थामा जुन समर्पण देखाउनुभयो, त्यो देशका लागि प्रेरणादायी छ।” उनले राष्ट्रपतिले युवाहरूका लागि गरेको आग्रहलाई ‘अन्तःकरणको आवाज’का रूपमा लिन आग्रह गरिन्।

बैठकमा जेनजीका प्रतिनिधिहरूले आफ्नो आन्दोलन संविधान, लोकतन्त्र, संघीयता र समावेशीता विरोधी नभई, कुशासन र भ्रष्टाचारविरुद्ध रहेको स्पष्ट पारे।

शीतल निवासमा भएको छलफलमा अन्तरिम प्रधानमन्त्री कार्की, मन्त्रीहरू र जेनजी अभियान्ता मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओज्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी सहभागी थिए।

Leave a comment