Join our Channel

काठमाडौंमा स्वरूप परिवर्तन गरिएका २ सय मोटरसाइकल नियन्त्रणमा, ट्राफिकको कडाइ अभियान सुरु

काठमाडौंमा स्वरूप परिवर्तन गरिएका २ सय मोटरसाइकल नियन्त्रणमा, ट्राफिकको कडाइ अभियान सुरु

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरेर र ध्वनि प्रदूषण गर्दै चलाइएका करिब २ सय मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार विशेष अभियान सञ्चालन गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस्तो कार्य गरेको हो।

ट्राफिक प्रहरीले स्वरूप परिवर्तन र अत्यधिक आवाज निकाल्ने मोटरसाइकलविरुद्ध कडाइका साथ कारबाही थालेको जनाएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीका अनुसार बिहीबार मात्र उपत्यकाका विभिन्न स्थानबाट करिब २ सय वटा मोटरसाइकल नियन्त्रणमा लिइएका छन्।

‘जेनजी आन्दोलनपछि विभिन्न स्थानमा मोटरसाइकलले अत्यधिक आवाज निकालेर ध्वनि प्रदूषण गरिरहेको गुनासो आएको थियो,’ एसएसपी अधिकारीले बताए। ‘त्यसपछि हामीले अभियान चलाएर स्वरूप परिवर्तन र ध्वनि प्रदूषण गर्ने मोटरसाइकल नियन्त्रणमा लिएका हौं।’

उनका अनुसार नियन्त्रणमा लिइएका मध्ये अधिकांश बुलेट मोटरसाइकल हुन्। अधिकारीले सडक अनुशासन कायम गर्न र जनस्वास्थ्यमा असर पार्ने गतिविधिलाई नियन्त्रण गर्न ट्राफिक प्रहरी निरन्तर सक्रिय रहेको बताए।

ट्राफिक प्रहरीले यसअघि पनि स्वरूप परिवर्तन, नम्बर प्लेट मिचिने, अवैध हेडलाइट परिवर्तन, र अत्यधिक हर्न बजाउने सवारीसाधनविरुद्ध कडाइका साथ कारबाही गर्दै आएको छ।

Leave a comment