
हिमाली सुन्दरताको प्रतीक मुस्ताङमा असोज महिनाभर ७५ हजार ५९९ पर्यटक पुगेका छन्। दसैं–तिहारको बिदाका अवसरमा आन्तरिक तथा विदेशी पर्यटकको भीड बढेपछि मुस्ताङ पर्यटकले खचाखच भएको हो।
प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शनसँगै मुस्ताङको अद्वितीय भूगोल, हिमशृङ्खला, सांस्कृतिक बस्ती र प्राकृतिक सौन्दर्य हेर्न देश–विदेशका पर्यटक मुस्ताङ पुग्ने गरेका छन्। कोरलानाका, लोमान्थाङ दरबार, छोसेर गुफा, ढुम्बाताल, ठिनी गाउँ, जोमसोम र मार्फा बस्ती यहाँका मुख्य आकर्षण स्थल हुन्। साथै निलगिरि र धौलागिरि हिमशृङ्खलाको मनमोहक दृश्य अवलोकनका लागि मुस्ताङ सबैको रोजाइमा पर्छ।
प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार असोजमा ६५ हजार ७४० आन्तरिक र ९ हजार ८५९ विदेशी पर्यटक मुस्ताङ पुगेका छन्। असोज २१ देखि ३१ गतेसम्मका १० दिनमै मात्र ४९ हजारभन्दा बढी पर्यटक मुस्ताङ प्रवेश गरेका थिए।
त्यस्तै, उपल्लो मुस्ताङमा मात्रै १४ हजार ३८९ जना पर्यटक पुगेका थिए, जसमा १३ हजार ९२९ आन्तरिक र ४५० विदेशी रहेका छन्।
गत वर्षको तुलनामा यस वर्ष पर्यटक आगमनमा २०.८५ प्रतिशतले गिरावट आएको तथ्यांक प्रहरीले जनाएको छ।
साउनदेखि असोजसम्मको अवधिमा जम्मा १ लाख १८ हजार ६८९ पर्यटक मुस्ताङ पुगेका छन् — जसमा ९१ हजार १२५ आन्तरिक र २७ हजार ४६४ विदेशी छन्।
गत आर्थिक वर्ष २०८१/८२ मा मुस्ताङमा ७ लाखभन्दा बढी पर्यटक पुगेका थिए।