Join our Channel

पर्सामा ५ लाखभन्दा बढीलाई हैजा विरुद्धको खोप, छठपछि दोस्रो चरण सुरु हुने

पर्सामा ५ लाखभन्दा बढीलाई हैजा विरुद्धको खोप, छठपछि दोस्रो चरण सुरु हुने

पर्सा जिल्लामा हैजा नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानअन्तर्गत ५ लाख ४७ हजार ३११ जनालाई हैजा विरुद्धको खोप खुवाइएको छ। विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा स्वास्थ्य कार्यालय पर्साले असोज २६ देखि कात्तिक २ गतेसम्म सात दिने खोप अभियान सञ्चालन गरेको थियो।

यो अभियान पर्साका सबै १४ पालिकामा सञ्चालन गरिएको हो। केही महिना अघि वीरगन्ज महानगर र वरपरका क्षेत्रमा फैलिएको हैजाको महामारीपछि संक्रमण नियन्त्रणका लागि यो कदम चालिएको हो। अहिले पनि वीरगन्जका अस्पतालहरूमा केही शंकास्पद बिरामी उपचारका लागि आउने क्रम जारी छ।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार जिल्लाको कुल जनसंख्याको ८४ प्रतिशत ले हैजा विरुद्धको खोप लिएका छन्। उनले भने, “हामीले घरदैलो अभियान र स्थायी खोप केन्द्रमार्फत खोप वितरण गरेका छौं। अझै १६ प्रतिशत जनसंख्या छुटेकाले छठ पर्वपछि दोस्रो चरणको अभियान सञ्चालन गरिनेछ।”

सर्वाधिक प्रभावित वीरगन्ज महानगरपालिकामा २ लाख २६ हजार १६६ जनाले खोप लिएका छन्, जुन कुल जनसंख्याको ८२ प्रतिशत हो। त्यस्तै, पर्सागढीमा ३४ हजार ८६१, बहुदरमाईमा ३४ हजार ८३३, पोखरियामा ३१ हजार ४८१, सखुवाप्रसौनीमा ३१ हजार ३८०, जगरनाथपुरमा ३० हजार २३२, छिपहरमाईमा २६ हजार ९०४, बिन्दवासिनीमा २२ हजार ४३३, पटेर्वा सुगौलीमा २१ हजार ४५०, धोबिनीमा १९ हजार ५५, कालिकामाईमा १९ हजार ३०, पकहामैनपुरमा १७ हजार ९०२, जिराभवानीमा १७ हजार २९६ र ठोरी गाउँपालिकामा १४ हजार ३५० जनाले खोप पाएका छन्।

जिल्लामा १ वर्षभन्दा माथिका ६ लाख ५२ हजार १२९ जनालाई खोप दिने लक्ष्य राखिएकोमा पहिलो चरणमा लक्ष्यको ८४ प्रतिशत मात्र पुग्न सकेको जनस्वास्थ्य अधिकृत ठाकुरले बताए।

गत भदौ ६ गते वीरगन्जमा पहिलोपटक तीन जनामा हैजाको संक्रमण पुष्टि भएपछि पर्सामा हालसम्म २ सय ४५ जनामा संक्रमण देखिएको छ। महामारी पूर्ण रूपमा नियन्त्रणमा नआएकाले छठपश्चात् बाँकी जनतालाई पनि खोप खुवाइने तयारी भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

Leave a comment