
प्रहरीले मोरङको सुनवर्षी नगरपालिका–२ बाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि स्पासपेन बरामद गरेको छ। उक्त औषधिसहित एक जनालाई नियन्त्रणमा लिइएको छ भने अर्का व्यक्ति फरार भएका छन्।
शुक्रबार दिउँसो प्रहरी चौकी अमरदहबाट खटिएको टोलीले शंकास्पद रूपमा आउँदै गरेको को २१ प २८३३ नम्बरको मोटरसाइकललाई चेकजाँचका लागि रोकेपछि यो घटना बाहिर आएको हो।
प्रहरीका अनुसार, मोटरसाइकल चालक मोरङ कटहरी गाउँपालिका–१ का ३५ वर्षीय निरज राजवंशी पक्राउ परेका छन्, भने पछाडि सवार व्यक्ति भने मौका पाएर फरार भएका छन्।
मोटरसाइकलमा रहेको जेब्रा झोलाबाट १५ हजार ट्याब्लेट ‘स्पासपेन’ औषधि बरामद भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।
उनीका अनुसार, बरामद औषधि प्रतिबन्धित श्रेणीमा पर्ने भएकाले यसबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीले फरार व्यक्तिको खोजी कार्य तीव्र पारेको छ।