
हाल देशभरको मौसममा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी तराई भूभागमा पनि आंशिक बदली रहने अपेक्षा गरिएको छ।
उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ। राति पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने तराई भूभागमा आंशिक बदली रहनेछ।
विशेषगरी गण्डकी र कर्णालीका पहाडी तथा हिमाली भूभागका केही स्थानमा, साथै लुम्बिनी प्रदेशका केही भूभागमा मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख गरिएको छ।
यात्रु, किसान र हिमाली क्षेत्रका बासिन्दाले मौसम अनुकूल तयारी गर्न मौसम महाशाखाले आग्रह गरेको छ।