
झापास्थित जिल्ला प्रशासन कार्यालयले तीन महिनामा झण्डै पाँच हजार व्यक्तिलाई राहदानी बनाएको छ।
जिल्ला प्रशासनका अनुसार गत साउनदेखि असोजसम्म ४ हजार ९०० जनाले राहदानी बनाएका छन्। यसबापत कुल २ करोड २३ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
त्यसै अवधिमा नागरिकतासम्बन्धी सेवा पनि वितरण गरिएको छ। दुई हजार ६७६ जनाले वंशज आधारमा नागरिकताको प्रमाणपत्र पाएका छन् भने १०४ जनाले वैवाहिक अङ्गीकृत नागरिकता र १५ जनाले गैरआवासीय नागरिकता प्राप्त गरेका छन्। साथै तीन हजार ८५ जनालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी डोरप्रसाद निरौलाका अनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा प्रशासनले सबै शीर्षकमा २ करोड २७ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
प्रशासनमा परेका उजुरीहरूमा अभद्र व्यवहारका ४०, वैदेशिक रोजगार ठगी २३, नागरिकता सम्बन्धी ५, सवारी ज्यान क्षतिपूर्ति ७ र जुवा १ मुद्दा फस्यौट भएको जानकारी पनि अधिकारीले दिएका छन्।