Join our Channel

‘परान’ काठमाडौं प्रिमियर – भावुक प्रतिक्रिया संगै उत्साहपूर्ण सुरुवात

‘परान’ काठमाडौं प्रिमियर – भावुक प्रतिक्रिया संगै उत्साहपूर्ण सुरुवात

रिलिजपूर्वसन्ध्यामा डेब्यू निर्देशक दीपक आचार्य ‘काकु’को फिल्म ‘परान’ को काठमाडौं प्रिमियर गरिएको छ। प्रिमियरमा उपस्थित अतिथिहरूले फिल्मले देखाएको कथा र भावनात्मक प्रस्तुतीकरणमा सकारात्मक प्रतिक्रिया दिएका छन्।

फिल्म हेरेपछि कतिपय अतिथिहरू भावुक देखिएका थिए। उनीहरूले आफ्ना परिवारका सदस्य र आफ्ना व्यक्तिगत स्मृतिलाई फिल्मले स्मरण गराएको प्रतिक्रिया दिएका छन्।

अभिनेता हरिवंश आचार्यले डेब्यू निर्देशक दीपक आचार्यको फिल्म उत्कृष्ट भएको बताए। उनले फिल्मले प्रस्तुत गरेको कथा प्रत्येक गाउँ–सहरको वास्तविक समस्यासँग जोडिएको भन्दै सबैलाई फिल्म हेर्न आग्रह गरे।

प्रदर्शनरत फिल्म ‘जेरी अन टप’ का निर्देशक सुयोग गुरुङले पनि ‘परान’ छुटाउनै नहुने फिल्म भएको प्रतिक्रिया दिए। उनले भने, “फिल्म हेरिरहँदा आँखा झिमिक्क नहुने तर कतिखेर आँसु आउँछ थाहा नहुने अनुभव हुन्छ।”

अन्य सेलिब्रेटीहरूले पनि फिल्मको सकारात्मक प्रतिक्रिया दिएका छन्। उपस्थित अधिकांशले निर्माता शेखर गोल्छारन्जित आचार्यलाई डेब्यूसँगै उत्कृष्ट फिल्म दिएकोमा बधाई तथा शुभकामना दिएका थिए।

फिल्मले उमेरको उत्तरार्धमा रहेका एक बाबुको कथा प्रस्तुत गर्छ। उनी आफ्ना सन्तानसँग नजिक रहन चाहन्छन्, तर सन्तानका आफ्नै प्राथमिकताका कारण त्यो चाहना पूरा हुन सक्दैन। फिल्मले यस अन्तरद्वन्द्वलाई अत्यन्तै भावनात्मक रूपमा चित्रण गरेको छ।

फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ।

‘परान’ का प्रिमियरले दर्शकहरूमा भावनात्मक संवेदना जगाएको र डेब्यू निर्देशकको प्रस्तुतिकरणलाई सकारात्मक रूपमा स्वीकारिएको देखिन्छ।

Leave a comment