
दयाहाङ राई र मिरुना मगर स्टारर ‘जारी’ घरेलु फिल्मको इतिहासमा सर्वकालिन धेरै कमाउने पाँचौ फिल्म बनेको थियो। चलचित्र विकास बोर्डका अनुसार यो फिल्मले १७ करोड ४८ लाख रुपैयाँ ग्रस कमाएको छ। बलियो शिल्प, कथावाचन, आदिवासी सौन्दर्य र दृश्यभाषाको सशक्त प्रस्तुतिका कारण यो फिल्म अझै पनि दर्शकको हृदयमा जीवित छ।
निर्माताले यसको दोस्रो श्रृंखला ‘जारी २’ दर्शकमाझ ल्याउन लागेका छन्। फिल्म २१ कात्तिकदेखि प्रदर्शनमा आउने तयारीमा छ। प्रदर्शन मिति नजिकिँदै गर्दा दर्शकबीच उत्साह उच्च छ र यो श्रृंखलाको अघिल्लो भागको कमाइ उछिन्ला कि भन्ने चर्चा चलेको छ।
नेपाल र अमेरिकामा केही हलले एड्भान्स टिकट बिक्री पनि शुरू गरिसकेका छन्। विर्तामोडको पाथिभरा सिने प्लाजाले ५ शोजका लागि बुकिङ खुला गरेको छ। काठमाडौंका ठूला मल्टिप्लेक्सले सम्भवतः यस सप्ताहन्त लगत्तै बुकिङ खुलाउने तयारीमा छन्।
अन्तर्राष्ट्रिय बजारमा पनि ‘जारी २’को एड्भान्स बुकिङ सुरु भएको छ। अमेरिकी राज्यहरू कोलोराडो, एरिजोना, क्यालिफोर्निया, म्यासाचुसेट्स, नर्थ ह्याम्सायर, न्यूयोर्क का हलहरूले शोज प्रकाशित गरेका छन्। बिहीबार बिहानसम्म ती हलले फिल्मका ३८ शोज सार्वजनिक गरेका थिए।
उल्लेखनीय हलहरूमा कोलोराडोको हर्किन्स थिएटर, एरिजोनाको हर्किन्स थिएटर, क्यालिफोर्निया–म्यासाचुसेट्स–न्यू ह्याम्सायर र न्यूयोर्क सिटीका एप्पल सिनेमाज चेन समावेश छन्।
फिल्म उपेन्द्र सुब्बा निर्देशित हुन् र अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरन्यसनलले प्रदर्शनमा ल्याउँदैछ।
दर्शकहरूले ‘जारी २’ को एड्भान्स बुकिङमा चासो देखाइरहेका कारण रिलिजअघि नै फिल्मले ठूलो लोकप्रियता प्राप्त गरिरहेको देखिन्छ।