Join our Channel

आगामी निर्वाचनमा दुई लाख नयाँ मतदाता थपिँदै

आगामी निर्वाचनमा दुई लाख नयाँ मतदाता थपिँदै

आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब दुई लाख नयाँ मतदाता थपिने भएका छन्।

निर्वाचन आयोगका अनुसार हालसम्म ८५ हजार एक सय सात जनाले मतदाता नामावलीमा सूचीकृत हुन फोटो खिचाइसकेका छन्। आयोगले सुरुमा पाँच लाख नयाँ मतदाता थपिने अनुमान गरे पनि हालको गतिमा जाने हो भने संख्या दुई लाखभन्दा माथि नबढ्ने देखिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन्।

२०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलोपटक मतदान गरेका २१ वर्ष उमेर समूह अहिले दोस्रोपटक मतदान गर्न तयार छन्, जबकि १८ देखि २० वर्ष उमेरका १८ लाख ८ हजार ४ सय ७७ जनाले पहिलो पटक मतदान गर्ने छन्।

२०७८ सालको जनगणना अनुसार नेपालमा कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ। यसमध्ये ३३.५ प्रतिशत जेन-जी (Gen Z) अर्थात् नयाँ पुस्ता रहेका छन्, जसले फागुनमा हुने निर्वाचनमा निर्णायक भूमिका खेल्ने अनुमान गरिएको छ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, कात्तिक मसान्तसम्म सबै योग्य मतदातालाई सूचीकृत हुन आग्रह गरिएको छ। आयोगका अनुसार कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताको संख्या १ करोड ८१ लाख ६८ हजार २ सय ३० पुग्नेछ।

भदौ २४ पछि १८ वर्ष पुगेका नयाँ युवाहरूलाई पनि समेट्दै आयोगले कात्तिक ३० गतेसम्म नाम समावेश र अद्यावधिक गर्न समय दिएको छ।

Leave a comment