
सुनसरीको धरान–१५ स्थित कृष्ण चेम्जोङ पथमा भाँडा–बर्तन चोरी गर्ने युवकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।
शनिबार बिहान करिब ३ बजे चोरी गर्दै गरेको अवस्थामा २४ वर्षीय सबिन लिम्बूलाई स्थानीयले रंगेहात पक्राउ गरी केही समय बिजुलीको पोलमा बाँधेर राखेका थिए। पछि उनलाई इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार लिम्बू लागूऔषध सेवनकर्ता समेत भएको र चोरीका क्रममा उनी नशाको प्रभावमा रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उनले स्थानीयका घरघरबाट भाँडा–बर्तनसहितका सामग्री चोरी गरेको प्रारम्भिक विवरण आएको छ।
प्रहरीले चोरीमा प्रयोग भएका केही सामग्री बरामद गरेको जनाएको छ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबू राईका अनुसार लिम्बूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ।
यसैबीच, कृष्ण चेम्जोङ टोल विकास संस्थाले सो क्षेत्रभित्र वा वरपरका बासिन्दालाई आफ्नो घरको सामान हराएको भए तात्कालिक रूपमा प्रहरीमा उजुरी दिन आग्रह गरेको छ।