Join our Channel

मौसम खुलेसँगै मनास्लु क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

मौसम खुलेसँगै मनास्लु क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

लामो समयपछि मौसम खुलेसँगै गोरखाको मनास्लु क्षेत्र फेरि पर्यटकले भरिन थालेको छ। आइतबार बिहानदेखि मौसम सफा भएपछि ‘होल्ड’ भएर बसेका सयौँ विदेशी पर्यटक आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन्।

स्थानीय पर्यटन व्यवसायी अजय गुरुङका अनुसार, “चार–पाँच दिनदेखि होटलमा अड्किएका पर्यटकहरु बिहानैदेखि खुशी हुँदै बाटो लागेका छन्। बाटोभरि समूह–समूहमा हिँडिरहेका पर्यटक देख्न सकिन्छ,” उनले बताए।

सामागाउँमा रोकिएका डेढदेखि दुई सय पर्यटक साम्दोतर्फ गइरहेका छन् भने साम्दोमा अड्किएका २५० भन्दा बढी पर्यटक लार्के पास हुँदै अगाडि बढेको जानकारी स्थानीय होटल व्यवसायीले दिएका छन्।

चुमनुब्री–२ स्यालाकी होटल व्यवसायी पेम्बा रेता लामाले भनिन्, “मौसम खुलेसँगै सबै पर्यटक उत्साहित छन्। सामागाउँ र साम्दो दुवैतर्फका पर्यटकहरू आफ्नो यात्रा अघि बढाइरहेका छन्। तलतिरबाट पनि नयाँ पर्यटक आउन थालेका छन्।”

गत मंगलबारदेखि लगातार वर्षाले मनास्लु क्षेत्रका पर्यटकहरू होटलमै अड्किएका थिए। वर्षाका कारण उत्पन्न असुरक्षालाई देखाउँदै जिल्ला प्रशासन कार्यालयले पनि पदयात्रा नगर्न अनुरोध गरेको थियो।

तर आइतबारदेखि मौसम सुधार भएपछि प्रशासनले नयाँ सूचना जारी गर्दै पदयात्रा पुनः खुला गरेको छ। कार्यालयले मौसम पूर्वानुमानको आधारमा सावधानी अपनाएर यात्रामा जान आग्रह गरेको छ।

Leave a comment