
प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्ताका जेनजी (Gen Z) युवाहरूप्रति सम्बोधन गर्दै उनीहरूलाई आफ्नै राजनीतिक दल गठन गरी चुनावमा सहभागी हुन आह्वान गरेकी छन्।
सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठकमा बोल्दै प्रधानमन्त्री कार्कीले स्वतन्त्रता, सुशासन र परिवर्तनको एजेन्डा लिएर सडकमा उत्रिएका युवाहरूलाई अब लोकतान्त्रिक प्रक्रियामार्फत जनताबाट अनुमोदन हुनुपर्ने बताइन्।
“चुनाव र दल एकअर्काका परिपूरक हुन्” — प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीले भनिन्,
“कतिपय जेनजी यहीँ आएर चर्का कुरा गरेर जान्छन्। कतिपय ठीक कुरा गर्छन्। उनीहरू सिक्दै छन्, केही त धेरै परिपक्व छन् पनि। स्थायित्वका लागि निर्वाचित सरकार नै आवश्यक हुन्छ। निर्वाचन र राजनीतिक दल एकअर्काका परिपूरक हुन्।”
उनले थपिन्, “स्वतन्त्र विज्ञ भनेर नाम चलेका व्यक्तिहरू पनि अब दल बनाएर चुनावमा आउँदै छन्। त्यसैले जेनजीहरूलाई पनि पार्टी खोलेर आफ्ना एजेन्डा जनतासामु प्रस्तुत गर्न आग्रह गरेकी छु।”
“हामी सबै मिलेर सुधार गर्नुपर्छ”
प्रधानमन्त्री कार्कीले देशलाई सुधार्न सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिइन्।
उनले भनिन्, “हामीले नसुधारे कसैले सुधारिदिँदैन। हाम्रो नियत खराब छैन, आशंका पाल्न जरुरी छैन। संविधानले बनाएका संरचनाको सम्मान गर्दै सहकार्यका साथ अघि बढ्ने हो।”
चुनाव तयारी र सुरक्षा व्यवस्थामा जोड
प्रधानमन्त्रीले सरकारले आगामी निर्वाचनका लागि पूर्ण तयारी गरिरहेको बताइन्।
उनका अनुसार, सुरक्षा निकायका लागि आवश्यक सबै सामग्रीको व्यवस्था भइरहेको छ, जसमा प्रहरीका लागि गाडी खरिददेखि बन्दोबस्ती सामग्रीसमेत समावेश छन्।
उनले भनिन्, “छिमेकी मुलुक र मित्रराष्ट्रहरूले सहयोगको आश्वासन दिएका छन्। आन्दोलनमा क्षतिग्रस्त भएका प्रहरी संरचनामध्ये ९० प्रतिशत स्थानीय जनताले नै पुनर्निर्माण गरेका छन्, जसले जन–प्रहरी सम्बन्धलाई अझ बलियो बनाएको छ।”
“निर्वाचन तोकिएकै मितिमा हुन्छ”
प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले आवश्यक तयारी पूरा गरिसकेको जानकारी दिइन्।
“आयोगलाई चाहिने १२० प्रकारका सामग्रीमध्ये ९० प्रतिशत तयार छन्। बाँकी व्यवस्थापन भइरहेको छ। तोकिएकै मितिमा चुनाव सम्पन्न हुनेछ,” उनले भनिन्।
त्यस्तै, उनले लुटिएका र हराएका हतियार फेला पर्न थालेको र बाँकी हतियारको लोकेसन पत्ता लागेको समेत जानकारी दिइन्।