
रुपन्देहीमा सञ्चालित चार ठूला उद्योगले नेपाल विद्युत प्राधिकरणलाई डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता महसुलको पहिलो किस्ता बुझाएका छन्।
बक्यौता बुझाएपछि काटिएका विद्युत लाइन पुनः जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए।
भैरहवा क्षेत्रमा सञ्चालनमा रहेका पञ्चकन्या प्लास्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार बक्यौताकै पहिलो किस्ता बुझाएका हुन्।
२०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोगबापतको प्रिमियम महसुल तिर्न बाँकी रहेकोमा, उद्योगहरूले २८ किस्तामा विभाजन गरिएको बक्यौताको पहिलो किस्ता बुझाएका हुन्।
प्राधिकरणका अनुसार बक्यौता विवरण यसप्रकार छः
- पञ्चकन्या प्लास्टिक उद्योग — रु २४ लाख ६३ हजार
- पञ्चकन्या स्टिल इण्डष्ट्रिज — रु ५२ लाख १९ हजार
- सिद्धार्थ पेटप्लान्ट — रु १ करोड ८३ लाख
- श्याम प्लास्टिक — रु ४९ लाख १० हजार
कार्यकारी निर्देशक सिलवालका अनुसार, “पहिलो किस्ता तिरेका उद्योगहरूको विद्युत लाइन पुनः जडान गरिएको छ र बाँकी किस्ता समयमै बुझाउने उद्योगलाई आवश्यक सहयोग प्रदान गरिनेछ।”