Join our Channel

पर्यटकको हब बन्दै रुकुमपूर्वको कमलदह, आन्तरिक पर्यटनमा नयाँ आकर्षण

पर्यटकको हब बन्दै रुकुमपूर्वको कमलदह, आन्तरिक पर्यटनमा नयाँ आकर्षण

रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ मा अवस्थित कमलदह पछिल्ला वर्षहरूमा पर्यटकहरूको पहिलो रोजाइ बन्दै गएको छ। सदरमुकाम नजिकै रहेको यो मनमोहक दहमा अहिले आन्तरिक र बाह्य पर्यटकहरूको चहलपहल बढ्दो छ।

सूर्योदयका सुनिला किरणसँगै कमलको फुलले ढाकिएको दह, हरियाली बनको शान्त वातावरण र पानीमा परावर्तित हिमाली दृश्य हेर्नका लागि दैनिकजसो सर्वसाधारणदेखि सरकारी कर्मचारीसम्म यहाँ आउने गरेका छन्।

पर्यटकहरू यहाँ बिहानको हिँडाइ, फोटोग्राफी, भिडियो निर्माण, ध्यान, योग र पारिवारिक घुमघामका लागि आउने गर्छन्। कार्यालय खुल्नुअघि र बन्द भएपछि कमलदहमा झनै चहलपहल बढ्ने गरेको छ।

प्राकृतिक सौन्दर्यसँगै रोजगारीको अवसर

कमलदहमा दैनिक ४–५ जना युवाले फोटो र भिडियो खिचेर रोजगारी पाएका छन्। यसले स्थानीय युवामा स्वदेशमै अवसर खोज्ने प्रेरणा जगाएको छ।

नेपाल पत्रकार महासंघ रुकुमपूर्वका अध्यक्ष वसन्त बाँठा मगरका अनुसार, “यदि स्थानीय सरकारले दहको संरक्षण, सफाइ र पूर्वाधार व्यवस्थापनमा निरन्तर ध्यान दियो भने, कमलदहले जिल्लाको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउने सम्भावना छ।”

रुकुमपूर्वको पर्यटन गन्तव्यका रूपमा उदाउँदो

स्थानीयहरूको सक्रियता र गाउँपालिकाको पहलसँगै कमलदह अहिले रुकुमपूर्वको प्राकृतिक गहनाको रूपमा चिनिन थालेको छ। प्रचार–प्रसार र व्यवस्थापन बढेमा यस क्षेत्रले निकट भविष्यमै रुकुमपूर्वको प्रमुख पर्यटन गन्तव्यका रूपमा पहिचान पाउने विश्वास कमलदहमा फोटो खिच्दै आएका रमेश सुनारले व्यक्त गरे।

Leave a comment