
रौतहटको माधव नारायण नगरपालिका पुनः विवादमा आएको छ। नगरपालिकाका प्रमुख बैजनाथ यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी दर्ता भएको छ।
उजुरीमा उनीहरूविरुद्ध आर्थिक अनियमितता, फर्जी बिल बनाउने र सरकारी सम्पत्ति हिनामिना गरेको गम्भीर आरोप लगाइएको छ।
१२ बुँदे उजुरीमा गम्भीर आरोपहरू
माधव नारायण–३ का स्थानीय बासिन्दा आशितोषकुमार यादवले अख्तियारमा दर्ता गराएको उजुरीमा १२ बुँदे आरोपपत्र समावेश छ।
त्यसमा निम्न गम्भीर मुद्दाहरू उल्लेख छन् —
- कमिसन लिएर कामको ठेक्का र टेन्डर वितरण
- टुक्रे योजना बनाइ अनियमित खर्च
- फर्जी बिल बनाएर भुक्तानी
- सडक बत्तीमा १० गुणा बढी मूल्यमा खरिद
- उपभोक्ता समितिलाई २०% कमिसनसहित भुक्तानी
- सङ्घ र प्रदेश सरकारबाट आएको सशर्त अनुदानमा अनियमितता
उजुरी अनुसार, कामै नगरी फर्जी बिल तयार गरी रकम भुक्तानी गरिएको, अनावश्यक शीर्षकमा खर्च गरी सरकारी सम्पत्तिलाई हिनामिना गरिएको उल्लेख छ।
छानबिन र कारबाहीको माग
उजुरी दर्ता गराउने यादवले भनेका छन्,
“नगर प्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृतले मिलेमतोमा नगरपालिकाको बजेट रकममा अनियमितता गरेका छन्। अख्तियारले भ्रष्टाचार निवारण ऐन बमोजिम छानबिन गरी कडा कानुनी कारबाही गर्नुपर्छ।”
अख्तियारले प्रारम्भिक अध्ययन थालेको र यस विषयमा थप प्रमाण संकलन भइरहेको स्रोतले जनाएको छ।
माधव नारायण नगरपालिका पछिल्ला वर्षहरूमा विकासका नाममा विभिन्न विवादमा तानिँदै आएको छ। स्थानीय बासिन्दाले पटक–पटक नगरपालिकामा पारदर्शिता अभाव, अनियमित योजना छनोट र मनपरी खर्च भएको आरोप लगाउँदै आएका छन्।