
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी वर्षको ए डिभिजन लिग कार्यक्रम घोषणा गरेको छ। एन्फा कार्यालयमा बसेको ए डिभिजन क्लबहरू र एन्फाबीचको बैठकले २०८३ पुस ९ गतेदेखि राष्ट्रिय लिग सुरु गर्ने निर्णय गरेको हो।
एन्फाले सार्वजनिक गरेको विज्ञप्तिअनुसार, ए डिभिजन लिग भने होम एन्ड अवे (Home & Away) फर्म्याटमा २०८४ पुस ३ गतेदेखि सुरु हुनेछ। राष्ट्रिय लिग सुरु हुनु अघि मकवानपुरमा एन्फा प्रेसिडेन्ट कप आयोजना गरिने बताइएको छ, जसबाट चार टोलीले राष्ट्रिय लिगमा स्थान पाउने छन्।
एन्फाका अनुसार, आगामी पुसमा हुने राष्ट्रिय लिगमा ए डिभिजन लिगका शीर्ष ६ टोली रहने छन् —
चर्च ब्याइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, जाउलाखेल युथ क्लब, सादोबाटो युथ क्लब र एनआरटी (न्यु रोड टिम)।
यस्तै, प्रेसिडेन्ट कपबाट शीर्ष चार टोली चयन हुने छन्। यसरी कुल १० टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन्।
राष्ट्रिय लिगको विजेता टोलीले एएफसी च्यालेन्ज लिगमा भाग लिन पाउनेछ, जसले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने अवसर दिलाउनेछ।