
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशलाई स्वायत्त प्रदेशको रुपमा घोषणा गर्न माग गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत जनतासँग खुला आह्वान गर्दै भने, “डराएर सदियौं नेपाली शासकको गुलामी गर्यौं, अब खुलेर बोलौं।”
राउतले मधेश प्रदेश सभाको बैठकबाट स्वायत्तता घोषणा गरी आफ्नै प्रदेश प्रहरी र प्रशासनसहितको सरकार गठन गर्नुपर्ने बताए।
“संविधानलाई धज्जी उडाउँदै नेपाली औपनिवेशक शासकले खटाएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयोग र अदालतले जे पनि गर्न मिल्छ। मधेशका पार्टीलाई छिन्नभिन्न पार्ने, पानस कटेजमा गएर सपथग्रहण गराउने, मधेश पक्षधर नेता, कार्यकर्ता र समर्थकमाथि प्रतिशोधसाध्ने काम भइरहेको छ। त्यसको विरोधमा हामीले मधेश प्रदेश सभाको बैठक सडकमा नै डाकेर भए पनि मधेशलाई स्वायत्त घोषणा गर्नुपर्छ।”
राउतले मधेशको ५४% जनसंख्या भएको क्षेत्रलाई सधैं नेपाली शासकको गुलामीमा नराखी स्वतन्त्र शासनको माग गर्नु आवश्यक रहेको बताए। उनले यस आन्दोलनलाई नेपाली औपनिवेशिक शासन अन्त्य गर्ने अवसरको रुपमा व्याख्या गरे।