Join our Channel

निर्वाचन आयोगको सर्भर स्लो, मतदाता नामावली दर्तामा देशभर समस्या

निर्वाचन आयोगको सर्भर स्लो, मतदाता नामावली दर्तामा देशभर समस्या

निर्वाचन आयोगको वेबसाइट ‘स्लो’ भएपछि देशभर मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्यमा समस्या देखिएको छ। आयोगका अनुसार सर्भरमा अत्यधिक लोड भएपछि वेबसाइट सुस्त गतिमा चलिरहेको छ, जसका कारण सेवाग्राहीहरूलाई नाम दर्ता तथा अद्यावधिक गर्दा कठिनाइ भइरहेको छ।

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले सर्भर स्लो भएकोबारे गुनासो आएको पुष्टि गर्दै भने, “वेबसाइटले काम नगरेको होइन, तर अत्यधिक लोडका कारण ढिलाइ भइरहेको छ। समस्या समाधानका लागि प्रविधिक टोली गठन गरिएको छ।”

आयोगले मतदाता नामावली प्रि–रजिस्ट्रेसन र अध्यावधिक दुबै प्रकृया सञ्चालनमा रहेको जनाएको छ। प्रवक्ता भट्टराईका अनुसार देशभर मतदाता नामावली संकलनको काम तीव्र गतिमा भइरहेको छ।

आयोगले सोमबार सार्वजनिक गरेको सूचनामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली दर्ता सुचारु रहेको बताइएको छ। तर, सेवाग्राहीको अत्यधिक सहभागिताले सर्भरमा चाप बढेको र त्यसले सेवा प्रवाहमा असर पारेको आयोगले जनाएको छ।

सर्भर समस्याको समाधानका लागि आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सहजीकरण समिति गठन गरेको छ। समितिको संयोजक उपसचिव कुलबहादुर जिसी रहेका छन् भने सदस्यमा शाखा अधिकृत दीपक पौडेल र कम्प्युटर इन्जिनियर प्रिता दहाल छन्।

यसअघि, कात्तिक २१ गते आयोगले जारी गरेको विज्ञप्तिमा पनि मतदाता नामावली दर्ता गर्नेहरूको भीड बढेका कारण सर्भरमा चाप परेको जनाइएको थियो।

आयोगका अनुसार, जेन–जी आन्दोलनपछि नयाँ मतदातामा भोट हाल्ने उत्साह बढेको र यही कारणले दर्ता गर्नेहरूको संख्या तीव्र गतिमा बढेको हो। हाल देशभरका ७७ स्थानबाट मतदाता नामावली संकलन भइरहेको छ।

आयोगले दिएको तथ्याङ्कअनुसार, असोज १२ गतेदेखि सुरु भएको दर्ता अभियानमा हालसम्म १ लाख ६३ हजार ६ सय नयाँ मतदाता थपिएका छन्। आयोगको निर्णयअनुसार, कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराउन सकिनेछ।

आयोगले जानकारी दिएको छ कि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने नागरिकले मात्रै मतदान गर्न पाउनेछन्।

Leave a comment