
भक्तपुर क्यान्सर अस्पतालले वार्षिक एक लाखभन्दा बढी बिरामीलाई सेवा दिइरहेको जनाएको छ। अस्पतालको ३१औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले उक्त जानकारी दिएका हुन्। उनका अनुसार यो संख्या ओपीडी (Out Patient Department) मार्फत उपचारका लागि आउने बिरामीहरूको हो।
वार्षिकोत्सवको अवसरमा अस्पतालमा निर्माण सम्पन्न भएको नयाँ प्रयोगशाला भवनको उद्घाटन गरिएको छ। उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले गरेकी हुन्। सो अवसरमा उनले अस्पतालमा २५ वर्ष सेवा गरेका कर्मचारीहरूलाई दीर्घ सेवापत्र र वेस्ट डिसिप्लिनरी अवार्ड वितरण गरिन्।
त्यस्तै, वार्षिकोत्सवमा आयोजित फुटसल प्रतियोगिताका विजेता खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
भक्तपुर क्यान्सर अस्पताल सन् १९९४ (साल २०५१) मा सामुदायिक अस्पतालको रूपमा स्थापना भएको हो। यो अस्पताल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, भक्तपुर नगरपालिका, रोटरी क्लबहरू, नेपाल अर्बुद रोग निवारण संस्था र विभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा सञ्चालन हुँदै आएको छ।
स्वास्थ्य मन्त्रालयको प्रस्तावमा २०७७ कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश २०७७ स्वीकृत गरेको थियो। त्यसयता अस्पताल स्वास्थ्य मन्त्रालय मातहत १२३ बेडसहित सेवा सञ्चालन गर्दै आएको छ।
हाल अस्पतालमा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (NAMS) अन्तर्गत मेडिकल अंकोलोजीमा पूर्णकालीन एमडी अध्ययन कार्यक्रम सञ्चालनमा रहेको छ। साथै, रेडियसन अंकोलोजी र गाइने अंकोलोजीमा पनि रेजिडेन्ट चिकित्सकहरू क्यान्सरसम्बन्धी अध्ययन र प्रशिक्षणमा छन्।
अस्पतालले काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त मेडिकल तथा नर्सिङ संस्थाका विद्यार्थीहरूलाई प्रयोगात्मक अभ्यास (Clinical Practice) का लागि पनि अवसर प्रदान गर्दै आएको छ।