
पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले एमालेलाई विद्यमान राजनीतिक परिस्थितिबीच मजबुत रूपमा अगाडि लैजाने जिम्मेवारी यही महाधिवेशनले वहन गर्ने विश्वास व्यक्त गरेकी छन्।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा शुभकामना दिँदै उनले यो महाधिवेशन पार्टी, नेता, कार्यकर्ता तथा आम जनताको सरोकारको विषय भएको बताइन्।
उनका अनुसार विशेष राजनीतिक परिस्थितिका कारण निर्धारित समयभन्दा एक वर्षअघि नै महाधिवेशन गर्नुपरेको हो। उनले प्रतिनिधि छनोटमा वैचारिक परिपक्वता, युवा ऊर्जा र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित गर्न पार्टी पंक्तिलाई जिम्मेवारीपूर्वक ध्यान दिन आह्वान गरिन्।
भण्डारीले आफूले दुई वर्षअघि नै विधानअनुसार नवीकरण गराएको सदस्यता नेतृत्वले अनुचित तरिकाले रोकेको प्रति गुनासो पनि सार्वजनिक गरिन्। उनले महाधिवेशनमा भौतिक रूपमा उपस्थित हुन नसक्ने बताए पनि पार्टीप्रति आफ्नो निरन्तर साथ रहने उल्लेख गरिन्।
उनले भनिन्,
“देशभक्त, राष्ट्रवादी र प्रगतिशील नेपाली जनताको आशा–भरोसाको केन्द्र एमालेको यो महाधिवेशन सफल होस्।”
एमालेले सर्वसम्मति खोज्ने र आवश्यक परे मंसिर १३ गते देशभर एकैदिन निर्वाचनमार्फत महाधिवेशन प्रतिनिधि छनोट गर्ने तयारी गरेको छ। महाधिवेशनमा झण्डै २२ हजार प्रतिनिधि सहभागी हुने बताइएको छ।