
राजावादी आन्दोलनमा सहभागी हुन आह्वान गर्दै अनधिकृत रूपमा सामूहिक म्यासेज पठाएको आरोपमा प्रहरीले निर्देश सेढाइलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सेढाइलाई नियन्त्रणमा लिएको हो। कार्यालयका प्रवक्ता काजीकुमार आर्चायका अनुसार सेढाइमाथि सार्वजनिक हितविरुद्धको कसुर अन्तर्गत अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार सेढाइले नेपाल टेलिकमको गेटवे प्रयोग गरी ‘एटी अलर्ट’ को नाममा एकैपटक करिब ५० लाख नागरिकलाई म्यासेज पठाएका थिए। उक्त म्यासेजमा आगामी पुस ३० गते बालुवाटार जाऔं भन्दै राजावादी आन्दोलनमा सहभागी हुन आह्वान गरिएको उल्लेख छ।
प्रवक्ता आर्चायका अनुसार प्रहरीसँगको बयानमा सेढाइले हालको सरकारले राम्रो काम नगरेकाले विरोधस्वरूप म्यासेज पठाएको बताएका छन्। उनले नेपाललाई भौगोलिक जटिलताबाट बचाउँदै पुनः सांस्कृतिक संवैधानिक अधिराज्य स्थापना गर्नुपर्ने तर्क गर्दै म्यासेज पठाएको खुलेको छ।
प्रहरीका अनुसार सेढाइ गाडी व्यवसायमा संलग्न व्यापारी हुन्। उनले काठमाडौं र चितवनमा गाडीका शो–रुम तथा पेट्रोल पम्प सञ्चालन गर्दै आएका छन्।
यस घटनामा करिब एक करोड रुपैयाँ खर्च गरेर म्यासेज पठाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। म्यासेज कुन उद्देश्यले, कसको सहयोगमा र कुन सञ्जाल प्रयोग गरी पठाइएको हो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।