
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा तीव्र वृद्धि भएपछि मंगलबार सेयर बजारमा लगातार तेस्रो सर्किट ब्रेक लाग्दै दिनभरका लागि कारोबार बन्द गरिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनपछि खुलेको बजारमा लगानीकर्ताको उच्च उत्साह देखिएपछि नेप्से परिसूचकमा असामान्य वृद्धि देखिएको हो।
मंगलबार बिहान ११ बजे बजार खुल्नेबित्तिकै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्दै २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो। त्यसपछि पुनः खुलेको बजारमा दोस्रो पटक पनि ४ प्रतिशतकै वृद्धि भएपछि दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटका लागि कारोबार रोकिएको थियो।
पुनः कारोबार सुरु भएको केही समयमै नेप्से परिसूचक थप १ प्रतिशतले बढेपछि तेस्रो सर्किट ब्रेक लाग्दै सो दिनको कारोबार पूर्ण रूपमा बन्द गरिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
मंगलबारको कारोबारमा नेप्से परिसूचक १६२ दशमलव ९३ अंकले बढेर २८७५ दशमलव ४३ अंकमा पुगेको छ। बजारमा सूचीकृत २५२ कम्पनीको सेयर मूल्य बढ्दा एक कम्पनीको मात्रै घटेको देखिएको छ। रिलाइन्स स्पिनिङ मिल्स बाहेक अधिकांश कम्पनीको सेयर मूल्य उकालो लागेको हो।
आजको कारोबारमा कुल ५५ करोड ५९ लाख ६३ हजार ८९४ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
विश्लेषकका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत प्राप्त गर्दै सरकार गठन गर्ने सम्भावना बढेपछि राजनीतिक स्थिरताको अपेक्षाले सेयर बजारमा सकारात्मक प्रभाव परेको छ। यही विश्वासका कारण लगानीकर्ताहरू उत्साहित हुँदा बजारमा तीव्र वृद्धि देखिएको बताइएको छ।