Join our Channel

“हामी ढलेका मात्र हौँ, मरेका होइनौँ” — एमाले पुनः उठ्ने योगेश भट्टराईको दाबी

“हामी ढलेका मात्र हौँ, मरेका होइनौँ” — एमाले पुनः उठ्ने योगेश भट्टराईको दाबी

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अहिले कठिन अवस्थामा पुगे पनि पुनः उठ्ने विश्वास व्यक्त गरेका छन्। उनले सही नीति, संगठन, नेतृत्व र कार्यशैलीमार्फत एमाले फेरि सशक्त रूपमा अघि बढ्ने बताएका हुन्।

पार्टी कार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै भट्टराईले भने, “कमरेडहरू, हामी ढलेका मात्र हौँ, मरेका होइनौँ। सही नीति, सही संगठन, सही नेतृत्व, सही व्यवहार र सही कार्यशैलीमार्फत हामी फेरि उठ्नेछौँ र पार्टी, जनता तथा राष्ट्रको स्वाभिमानलाई पुनः उठाउनेछौँ।”

उनले पार्टीभित्र संयम र धैर्यताका साथ एकता कायम राख्दै आत्मभर्त्सना होइन, आत्मसमीक्षाको बाटो अपनाउन सबै कार्यकर्तालाई आग्रह गरेका छन्। साथै पार्टी कार्यकर्ता, शुभेच्छुक र बुद्धिजीवीहरूलाई आफ्ना सुझाव तथा धारणा पार्टी नेतृत्वसमक्ष पठाउन पनि अपिल गरेका छन्।

भट्टराईका अनुसार पछिल्लो निर्वाचनमा जनताले आफ्नो मतमार्फत एमालेको नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपमा अस्वीकृति गरेका छन्। उनले यसलाई वर्तमान वस्तुगत यथार्थको रूपमा स्वीकार गर्दै पार्टीले अब सर्वाङ्गीण रूपान्तरणमार्फत जनसमर्थन पुनः प्राप्त गर्ने दिशा लिनुपर्ने बताएका छन्।

उनले भदौ २३ र २४ पछि पार्टीले लिएका कतिपय नीतिहरूमा सुधार गर्न आफूहरूले पटक–पटक आग्रह गरे पनि सफल हुन नसकेको उल्लेख गरे। अब भने पार्टीभित्र खुला छलफल र बहस आवश्यक रहेको उनको धारणा छ।

भट्टराईले एमाले अहिलेको अवस्थामा पुग्नुमा नीतिगत निर्णय मात्र होइन, विभिन्न तहका कमिटी र नेताहरू सबै जिम्मेवार रहेको बताएका छन्। विशेषगरी नीतिगत तथा कार्यकारी जिम्मेवारी बोकेको केन्द्रीय कमिटी र केन्द्रीय सचिवालयले सफलता–असफलताको जिम्मेवारी लिनुपर्ने उनले बताएका छन्।

उनका अनुसार पार्टीले अहिले सामना गरिरहेको अवस्था सिंगो पार्टीकै सामूहिक असफलता हो। यसलाई सुधार गर्न सामूहिक बुद्धि, विवेक र पहल आवश्यक रहेको उनले जोड दिएका छन्।

अन्त्यमा उनले राष्ट्रिय एकता, नेपाली सार्वभौमिकताको रक्षा तथा वाम–लोकतान्त्रिक विचारधाराको संरक्षण आजको साझा राष्ट्रिय जिम्मेवारी भएको उल्लेख गर्दै विभिन्न राजनीतिक शक्तिबीच सकारात्मक सहकार्य आवश्यक रहेको बताएका छन्।

Leave a comment