Join our Channel

कम्युनिस्ट गढ लुम्बिनीमा रास्वपाको ऐतिहासिक उदय, २६ मध्ये २१ सिटमा विजय

कम्युनिस्ट गढ लुम्बिनीमा रास्वपाको ऐतिहासिक उदय, २६ मध्ये २१ सिटमा विजय

वामपन्थी आन्दोलनको बलियो आधार मानिने लुम्बिनी प्रदेशमा यसपटक प्रतिनिधिसभा निर्वाचनले अप्रत्याशित राजनीतिक परिवर्तन ल्याएको छ। लामो समयदेखि नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को प्रभाव रहेको क्षेत्रहरूमा नयाँ शक्ति **राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)**ले उल्लेखनीय सफलता हासिल गरेको छ।

तराई र पहाडका १२ जिल्ला समेटिएको लुम्बिनी प्रदेशमा प्रतिनिधिसभाका २६ निर्वाचन क्षेत्र रहेका छन्। तीमध्ये २१ क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन्। यससँगै प्रदेशमा रास्वपाले करिब ८०.७७ प्रतिशत सिट जित्दै पहिलो शक्ति बन्न सफल भएको छ। बाँकी पाँच सिटमा एमाले, कांग्रेस र माओवादी केन्द्र सीमित भएका छन्।

रास्वपाले पूर्वी रुकुम, बाँके–२, रोल्पा, कपिलवस्तु–३ र पाल्पा–१ बाहेक सबै क्षेत्रमा जित हात पारेको छ। यो नतिजाले लुम्बिनी प्रदेशको राजनीतिक समीकरणमा ठूलो परिवर्तन आएको विश्लेषकहरू बताउँछन्।

प्रचण्ड र वर्षमानले जोगाए आफ्नो किल्ला

लुम्बिनीको एकमात्र हिमाली जिल्ला पूर्वीरुकुममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन्। उनले १० हजार २४० मत प्राप्त गर्दै आफ्नो राजनीतिक आधार कायम राख्न सफल भए। एमालेका लीलामणि गौतम र कांग्रेसकी कुसुमदेवी थापा निकै पछाडि परे।

त्यस्तै, माओवादीको आधार क्षेत्र मानिने रोल्पामा नेता वर्षमान पुनले आफ्नो बिरासत जोगाए। उनले कांग्रेसका सुदनकुमार वलीलाई १५ हजारभन्दा बढी मतान्तरले पराजित गरे। यस क्षेत्रमा रास्वपा तेस्रो शक्तिमा सीमित भयो।

एमाले र कांग्रेसको कमजोर उपस्थिति

२०७९ को निर्वाचनमा लुम्बिनीमा बलियो उपस्थिति बनाएको एमाले यसपटक भने निकै कमजोर देखिएको छ। प्रदेशभर एमालेले केवल एक सिट मात्र जित्न सफल भयो। बाँके–२ बाट मोहम्मद इस्तियाक राई विजयी हुँदै एमालेको उपस्थितिलाई जोगाएका छन्।

त्यस्तै नेपाली कांग्रेसले पनि अपेक्षाभन्दा कम सफलता पाएको छ। कांग्रेसले पाल्पा–१कपिलवस्तु–३ गरी दुई सिटमा मात्रै जित निकालेको छ। पाल्पा–१ मा सन्दीप राना विजयी हुँदा कपिलवस्तु–३ मा अभिषेकप्रताप शाहले जीत हात पारे।

नयाँ अनुहारसहित रास्वपाको ‘क्लिन स्विप’

अघिल्लो निर्वाचनमा शून्य सिट रहेको रास्वपाले यसपटक २१ सिट जित्दै प्रदेशको सबैभन्दा ठूलो शक्ति बनेको छ। रास्वपाबाट विजयी हुनेहरूमा पूर्वपत्रकार, पूर्वप्रहरी, चिकित्सक र सामाजिक अभियन्ता जस्ता नयाँ अनुहारहरू रहेका छन्।

रूपन्देहीमा रास्वपाले पाँचै क्षेत्र जित्दै ‘क्लिन स्विप’ गरेको छ। विशेषगरी रूपन्देही–२ मा अधिवक्ता सुलभ खरेलले एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई फराकिलो मतान्तरले पराजित गरेपछि उक्त नतिजा निकै चर्चामा आएको छ।

त्यस्तै रूपन्देही–३ मा डा. लेखजंग थापा, रूपन्देही–४ मा कन्हैया बानियाँ र रूपन्देही–५ मा तौफिक अहमद खान विजयी भएका छन्। बुटवल र आसपासका क्षेत्रमा लामो समयदेखि प्रभाव जमाएका पुराना नेताहरू यसपटक पराजित भएका छन्।

दाङ, गुल्मी र प्यूठानमा पनि नयाँ लहर

दाङ–२ मा एमाले महासचिव शंकर पोख्रेल रास्वपाका विपिनकुमार आचार्यसँग फराकिलो मतान्तरले पराजित भए। गुल्मी–२ मा एमाले उपाध्यक्ष गोकर्ण विष्ट पनि रास्वपाका गोविन्द पन्थीसँग झिनो मतान्तरले हार्न पुगे।

त्यस्तै गुल्मी–१ मा एमालेका प्रभावशाली नेता प्रदीप ज्ञवाली रास्वपाका सागर ढकालसँग पराजित भए। प्यूठानमा एमाले नेता सूर्य थापा रास्वपाका सुशान्त वैदिकसँग पराजित भए भने अर्घाखाँचीमा पत्रकारिता पृष्ठभूमिका हरिप्रसाद भुसाल विजयी भए।

यसैगरी बर्दियामा ठाकुरसिंह थारू र श्रीधर पोख्रेल तथा नवलपरासी (पश्चिम) मा रास्वपाका विक्रम खनाल विजयी भएका छन्। खनालले कांग्रेसका चर्चित व्यवसायी विनोद चौधरीलाई पराजित गरेका हुन्।

यस नतिजाले लुम्बिनी प्रदेशको परम्परागत राजनीतिक शक्ति सन्तुलनलाई बदल्दै नयाँ राजनीतिक युगको संकेत गरेको विश्लेषकहरू बताउँछन्।

Leave a comment