
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अछाम जिल्लामा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो दल बनेको छ। दुई निर्वाचन क्षेत्र रहेको अछाममा कांग्रेसले १९ हजार ३५ मत प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको हो।
निर्वाचन परिणामअनुसार नेकपा एमाले १५ हजार ३०२ मतसहित दोस्रो स्थानमा रहेको छ भने नेकपा १४ हजार १६२ मतसहित तेस्रो स्थानमा पुगेको छ। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १० हजार २५० मतसहित चौथो दल बनेको छ।
अछाम–१ को परिणाम
आइतबार सम्पन्न मतगणनाअनुसार अछाम–१ मा समानुपातिकतर्फ नेपाली कांग्रेस ९ हजार ५२३ मतसहित पहिलो स्थानमा रहेको छ। यो मत कांग्रेसले प्रत्यक्षतर्फ पाएको मतभन्दा १ हजार २३६ मत कम हो। प्रत्यक्षतर्फ भने कांग्रेसका भरतकुमार स्वाँर १० हजार ५२३ मतसहित निर्वाचित भएका थिए।
समानुपातिकतर्फ नेकपा ९ हजार ३५१ मतसहित दोस्रो स्थानमा रहेको छ। प्रत्यक्षतर्फ नेकपाका भीमबहादुर रावलले १० हजार २३३ मत प्राप्त गरेका थिए।
त्यस्तै नेकपा एमालेले ६ हजार ३१७ मत प्राप्त गर्दै तेस्रो स्थानमा रह्यो। प्रत्यक्षतर्फ एमालेका दिपकबहादुर साउदले ७ हजार ३८९ मत प्राप्त गरेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४ हजार ७८० मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ रास्वपाका ओमप्रकाश रावलले १ हजार ७३९ मत मात्रै प्राप्त गरेकाले उनले जमानतसमेत जोगाउन सकेनन्।
अछाम–२ को परिणाम
अछाम–२ मा समानुपातिक मतगणनाअनुसार नेपाली कांग्रेस ९ हजार ५१२ मतसहित पहिलो स्थानमा रहेको छ। नेकपा एमाले ८ हजार ९८५ मतसहित दोस्रो, रास्वपा ५ हजार ८४० मतसहित तेस्रो र नेकपा ४ हजार ८११ मतसहित चौथो स्थानमा रहेका छन्।
यस क्षेत्रको प्रत्यक्षतर्फ भने नेकपा एमालेका यज्ञबहादुर बोगटी ९ हजार ५१८ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
बदर मत कति ?
अछाममा समानुपातिकतर्फ कुल ६४ हजार ८९३ मत खसेको थियो। जसमध्ये २ हजार ६५० मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।