
निर्माण कम्पनीको लापरबाहीका कारण वर्षौंदेखि अलपत्र परेको ओखलढुंगाको ऐसेलुखर्क गाउँपालिकाको प्रशासकीय भवन पाँच वर्षपछि बल्ल निर्माण सम्पन्न भएको छ।
२०७६ माघ २६ गते टेण्डर आव्हान गरी सुरु गरिएको भवन निर्माण कार्य ल्याब टेष्टमा गुणस्तरहीन देखिएपछि २०७८ जेठदेखि रोकिएको थियो। निर्माणमा संलग्न रुजन–जगदम्बा–भुवनेश्वरी एण्ड वैभव जेभी कम्पनीले ल्याब रिपोर्ट कीर्ते गरी झुटो प्रतिवेदन बुझाएपछि समस्या झन जटिल बनेको थियो।
यसकै आधारमा निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन २०६३ अनुसार २०७९ साउन ९ गतेको निर्णयबाट कालोसूचीमा राखिएको थियो। साथै, कम्पनीको धरौटी रकम पनि जफत गरिएको थियो।
तीन करोड ६९ लाखको लागत अनुमानमा सुरु गरिएको भवन दुई करोड ६८ लाखमा निर्माण सक्नेगरी ठेक्का दिइएको थियो। तर प्रदेश सरकारको बजेट फिर्ता भएपछि गाउँपालिकाले दुई करोड ३० लाख रुपैयाँ खर्च गरेर भवन निर्माण पूरा गरेको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले जानकारी दिए।
नेपाल मध्यस्थता परिषद् (नेप्का) को पहलमा विवाद समाधान गरी मध्यस्थ ऐन, २०५५ अनुसार काम पुनः सुरु गरिएको थियो। अन्ततः यही कम्पनीले नै निर्माण कार्य सम्पन्न गरेको हो।
शुक्रबार गाउँपालिका अध्यक्ष राई र उपाध्यक्ष राजेश राजभण्डारीले संयुक्त रूपमा भवन उद्घाटन गरेका छन्। उद्घाटनपछि गाउँपालिकाको प्रशासनिक काम आफ्नै भवनबाट सुरु गरिएको छ।