Join our Channel

उद्घाटन नहुँदै अमलेखगन्ज पाइपलाइनमा फेरि समस्या, इन्धन आपूर्ति प्रभावित हुने खतरा

उद्घाटन नहुँदै अमलेखगन्ज पाइपलाइनमा फेरि समस्या, इन्धन आपूर्ति प्रभावित हुने खतरा

अमलेखगन्जस्थित नेपाल आयल निगमको बहुप्रतीक्षित पेट्रोलियम पाइपलाइनमा औपचारिक उद्घाटन नहुँदै प्राविधिक समस्या देखा परेको छ। दोस्रो चरणअन्तर्गतको टीएलएफ सेड (लोडिङ वे) मा देखिएको समस्याका कारण इन्धन लोडिङमा जोखिम बढेको निगमले जनाएको छ।

निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार लोडिङका क्रममा पाइपलाइनमा अत्यधिक प्रेसर परेको र भाइब्रेशनका कारण पाइप करिब १० सेमि अगाडि सरेको छ। प्रेसर नियन्त्रित गर्न भल्भले पर्याप्त काम नगरेको देखिएको छ।

आईओसीको प्राविधिक टोली ३० जुलाईमा आउने

यो समस्या समाधानका लागि भारतीय आयल कर्पोरेसन (आईओसी) लाई जानकारी दिइएको र प्राविधिक टोली ३० जुलाईमा आउने जानकारी आएको छ। मर्मतका लागि पाइपलाइन केही दिन बन्द गर्नुपर्ने भए पनि बजारमा इन्धन अभाव नहुने निगमको दाबी छ।

यसअघि पनि देखिएको थियो समस्या

दुई महिनाअघि पनि यस्तै समस्या देखिएको थियो जसका कारण पाइपलाइन ६ दिनसम्म बन्द गरिएको थियो। अहिले पुनः त्यही खण्डमा समस्या देखिएको हो जहाँबाट पेट्रोल र मट्टीतेल लोड हुँदै आएको छ।

प्रादेशिक कार्यालय प्रमुख प्रलयंकर आचार्यले भने, “भण्डारण ट्यांकीबाट लोडिङ बे हुँदै ट्यांकरमा लोड गर्ने क्रममा पाइपमा समस्या देखिएको छ। जसले गर्दा पाइप भाँचिने जोखिम बढेको छ।”

परियोजनामा लगानी र पूर्वाधार

दोस्रो चरणअन्तर्गत निगमले १ अर्ब ५४ करोड र आईओसीले ७५ करोड भारु लगानी गरेका थिए। २४ वटा अत्याधुनिक लोडिङ बे बनाइएको छ जसमा पेट्रोल, डिजेल र मट्टीतेलका लागि बटम र टप लोडिङ सुविधाहरु उपलब्ध छन्।

आईओसीमार्फत निर्माण गरिएको यो पूर्वाधार लिखिता इन्टरनेसनल नामक भारतीय कम्पनीले बनाएको हो।

मौज्दात पर्याप्त, अभाव नहुने निगमको दाबी

हाल अमलेखगन्ज डिपोमा २५,५०० किलोलिटर डिजेल र १७,५०० किलोलिटर पेट्रोल मौज्दात रहेको र दैनिक ३,०००–३,५०० किलोलिटर बिक्री हुने भएकाले ७ दिनसम्मको बन्दले अभाव नहुने निगमको दाबी छ।

Leave a comment