
अर्घाखाँचीको शितगंगा नगरपालिका–६, पाखापानीमा एक दाजुले बञ्चरो प्रहार गरी आफ्नै भाइको हत्या गरेका छन्।
इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक दीपकसिंह बिष्टका अनुसार ४२ वर्षीय विष्णुबहादुर बादीले ३२ वर्षीय भाइ बमबहादुर बादीको टाउकोमा बञ्चरो हानेर हत्या गरेका हुन्।
दुवै दाजुभाइबीच पहिल्यैदेखि विवाद चलिरहेको थियो। घटनाको राति उनीहरूले मदिरा सेवन गरेका थिए। सोही क्रममा वादविवादले उग्ररूप लिएपछि विष्णुबहादुरले बञ्चरो प्रहार गरेका थिए।
घटनापछि गम्भीर घाइते भएका बमबहादुरलाई तत्काल स्थानीयहरूले अस्पताल लगेका थिए। तर प्राथमिक स्वास्थ्य केन्द्र, ठाडाले राति १ बजे उनलाई मृत घोषणा गरेको हो।
हत्या पछि फरार रहेका विष्णुबहादुरलाई प्रहरीले राति नै लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।