
आज आश्विन शुक्ल अष्टमीका अवसरमा बडादसैं तथा नवरात्रको आठौँ देवी महागौरीको विधिपूर्वक पूजाआराधना हुँदैछ। वैदिक सनातन परम्परा अनुसार प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरीको आराधना गर्ने चलन छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवरात्रको नवौँ दिन महागौरीको पूजा गर्नुपर्ने भएको हो।
किंवदन्तीअनुसार, देवीको वर्ण पहिला कालो थियो। भगवान् शिवले मजाकमै ‘ए काली’ भनेपछि असन्तुष्ट भएकी देवीले कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकी थिइन्। त्यसै कारण देवीलाई महागौरी नामले चिनिन्छ। विभिन्न पुराणका अनुसार महागौरी सेतो वृषभमा सवार, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरूपमा चित्रण गरिएको छ।
यसअघि नवरात्रका दिनहरूमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी र कालरात्रि देवीको पूजा सम्पन्न भइसकेको छ। आज महागौरीको आराधना पछि भोलि सिद्धिदात्री देवीको पूजा गरेर नौ दुर्गाको पूजाआराधना सम्पन्न हुनेछ।
धार्मिक विश्वास अनुसार, नवरात्रमा देवीको आराधना गरे शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मान्यता छ। नवरात्रमा घटस्थापनादेखि नवमीसम्म गरिएको पूजाको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने चलन छ।