
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडी जिल्लामा समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार **राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)**ले सबैभन्दा बढी मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाले समानुपातिकतर्फ २३ हजार ७३६ मत प्राप्त गरेको छ। यो मत प्रत्यक्षतर्फ प्राप्त मतभन्दा पनि बढी रहेको छ। प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार हरिमोहन भण्डारीले २२ हजार १३४ मत प्राप्त गर्दै विजयी भएका थिए।
त्यस्तै नेकपा एमालेले समानुपातिकतर्फ १६ हजार ४९ मत प्राप्त गरेको छ। तर एमालेले समानुपातिकतर्फ प्रत्यक्ष निर्वाचनको तुलनामा कम मत पाएको देखिएको छ। प्रत्यक्षतर्फ एमालेका उम्मेदवार दामोदर भण्डारीले १७ हजार ९१ मत प्राप्त गरेका थिए।
नेपाली कांग्रेस समानुपातिकतर्फ १५ हजार ९०७ मतसहित तेस्रो स्थानमा रहेको छ। प्रत्यक्षतर्फ भने कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गरेका थिए।
यसैगरी **नेपाली कम्युनिष्ट पार्टी (नेकपा)**ले समानुपातिकतर्फ ६ हजार ३३५ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ नेकपाका उम्मेदवार परमानन्द भट्टले ६ हजार ९६५ मत पाएका थिए।
त्यस्तै **राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)**ले समानुपातिकतर्फ ३ हजार ४७१ मत प्राप्त गरेको छ। राप्रपाले भने प्रत्यक्षभन्दा समानुपातिकतर्फ बढी मत पाएको छ। प्रत्यक्षतर्फ राप्रपाका उम्मेदवार भुपेनबहादुर चन्दले २ हजार ६८१ मत प्राप्त गरेका थिए।
निर्वाचन कार्यालयका अनुसार बैतडीमा समानुपातिकतर्फ ७२ हजार ३०८ मत खसेको थियो। जसमध्ये ४ हजार १२६ मत बदर भएका छन् भने ६८ हजार १८२ मत सदर भएको जनाइएको छ।